मकवानपुर थाहा नगरपालिकाको शंङ्खमूल धार्मिक दस्तावेजहरुको आधारमा विश्वकै पवित्र स्थलको भएको विषयमा छलफल भएको छ । थाहा नगरपालिकाको आयोजनामा १ असोजमा घट्टेचौर शंङ्खमूलमा भएको स्थानीय अगुवाहरुको भेलामा उक्त धार्मिक दस्तावेजहरुको विषयमा छलफल भएको हो । मठाधीस अनन्त श्रीविभूषित स्वामी श्रीचतुर्जुजाचार्य चूडामणिजी महाराजले शंङ्खमूलको विषयमा प्रमाणसहित उपस्थित सबैलाई प्रष्ट्याएका हुन् ।

यस क्षेत्रका बुढापाका र धार्मिक अगुवाहरुले विश्वकै तीन शंङ्खमूल मध्येको एक भनिदै आएको भएपनि महाराजले उक्त छलफलमा प्रमाण नै पेश गरेका छन् । चूडामणि महाराजले धार्मिक ग्रन्थहरुको आधारमा थाहाको शंङ्खमूल विश्वकै पवित्र भूमि भएको सबैका सामू प्रष्ट पार्दै भने–‘हिमवत खण्डको अध्याय ११२ मा यो शंङ्खमूलको विषयमा स्पष्ट उल्लेख गरिएको छ, यो भन्दा ठूलो प्रमाण के चाहियो ?’ सो अध्यायमा शंङ्खमूल कसरी भयो, यसका आसपास अरु पवित्र धार्मिक स्थल के के छन ? सबै बेलीविस्तार लगाइएको मठाधीस अनन्त श्रीविभूषित स्वामीले सबैलाई पाना पल्टाइ–पल्टाई प्रमाणसहित सुनाए ।

फोटोः गणेश विष्ट/पालिका प्रेस

थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षताम भएको कार्यक्रममा शंखमुलसहित स्थानीय वस्तुस्थितीको विषयमा पालुङका रामप्रसाद ढकालले प्रष्ट्याएका थिए । उनले हालको थाहा नगरपालिका भित्र पर्ने विभिन्न शक्तिपीठ, शिवलिङ्ग तथा अन्य देवालयहरुको धार्मिक महत्व र हुँदै आएको विश्वासको विषयमा बताए । कार्यक्रममा सहभागी भएकाहरु परम्परादेखि सुन्दै आएको शंखमूलको विषयमा जान्न निकै उत्सुक देखिन्थे ।

थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले शंखमूलको विषयमा सर्वत्र सहजै जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले छलफलका लागि आफूले पहिले देखि नै निकै जिज्ञासा राख्दै आएको र प्रमाणित स्रोतको खोजी गर्ने क्रममा मठाधीस अनन्त श्रीविभूषित स्वामी श्रीचतुर्जुजाचार्य चूडामणिजी महाराज समक्ष पुगेको कार्यक्रममा जानकारी गराए । उपप्रमुख गोपालीले भने–‘आफू निर्वाचित पालिकामै रहेको पवित्र धार्मिक स्थललाई कसरी सबै सामु चिनाउन सकिएला भन्ने दौरानमै छु र यस क्षेत्रको विकासका लागि प्रतिवद्ध पनि छु ।’ उनी थप्छन्–‘मेयर सापले शंङ्खमूलको विषयलाई तपाई अघि बढाउनुस् संगै पनि छु भनेपछि म त्यसका लागि अघि बढें र आजको यो जमघट हुन सफल भयोे ।’ मठाधीस अनन्त श्रीविभूषित स्वामी श्रीचतुर्जुजाचार्य चूडामणिजी महाराजको टिम र कार्यक्रमका सहभागीहरु सबैप्रति उपप्रमुख गोपालीले खुशी बाँडे ।

फोटोः गणेश विष्ट/पालिका प्रेस

मठाधीस अनन्त श्रीविभूषित स्वामी श्रीचतुर्जुजाचार्य चूडामणिजी महाराजले प्रमाणमा आधारित भएर बताउनु भएको शंङ्खमूलको सवालमा नगर प्रमुख विष्णु बहादुर विष्टले खुशी व्यक्त गरे । आफूले सुनेका कुराहरु प्रमाणकै रुपमा पाउँदा निर्धक्कताको महशुस भएको विष्टले सुनाए । शंखमूललाई धार्मिक क्षेत्रको रुपमा विकास गर्नका लागि पालिकाको पहलमा केही कामहरु भैरहेको बताउँदै वृहत्तर शङ्खमूल विकास समिति गठन गरेरै अघि बढ्ने बताए । ‘पालिकासंग थोरै बजेट हुन्छ, विकासका काममा छेउ पनि पुग्दैन, त्यसैले स्वामी ज्यूको पनि सहयोगको अपेक्षा गरेका छा’ैं, प्रमुख विष्टले भने ‘संघ र प्रदेश सरकारसंग पनि हामी पहल कदमी गर्छौ ।’ पवित्र स्थल शंखमूलको विकासका लागि सरकार र समुदाय सबै एक हुनुपर्ने प्रमुख विष्टको भनाइ थियो ।

फोटोः गणेश विष्ट/पालिका प्रेस

मठाधिस अघिल्लो दिन ३१ भाद्रमै थाहानगर आइपुगेका हुन् । विभिन्न व्यवस्थाताकाबीच पनि यो पवित्र भूमिका पाइला टेक्न आफू समक्षम भएको उनले खुलासा गरे । उनीसंगै टोलीमा पण्डित राजकुमार खनाल, नेपाल ज्योतिष परिषदका केन्द्रिय सदस्य चोलेन्द्र रिजाल, लक्ष्मण श्रीनिवास रामानुदास, राम प्रशन्न बराल, बासुदेव रामानुदासलगायत धार्मिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा थाहा नगरपालिकाका वडाध्यक्षहरु, राजनीतिक दलका प्रमुखहरु, स्थानीय धार्मिक संघसंस्स्थाका अध्यक्ष तथा प्रतिनीधिहरु र विभिन्न सामुदायिक संघसंस्थामा आवद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

मठाधीस अनन्त श्रीविभूषित स्वामी श्रीचतुर्जुजाचार्य चूडामणिजी महाराजले प्रमाणका आधारमा प्रस्तुत भनाइको सम्पादित अंशः

शंखुकर्ण दैत्यले युद्ध गरेर भगवान शंकरबाट वरदान पाएको ठाउँ हो यो । यहाँ देउता र दैत्यबीच ठुलो लडाइ भएको थियो । भगवान शंकरले यहाँ वैभव देखेर नारायणलाई समेत धर्तीमा उतारी युद्धसन्धी भएको थियो । भगवान अन्तरंङ्ग रुपमा खुशी भएर नेत्रबाट जलविन्दु उत्पत्ती भएको थियो । यहिँ ठाउँ पातालगंगा हो । यहि दुई नदीको संगमस्थलमा जल हुनै पर्छ नभए भोलि डोजर लाएर हेर्नुस् कुवा वा कुनै नदीको स्रोत हुनै पर्छ । यस अघि कोही कसैले देख्नू भएको पनि होला ।

फोटोः गणेश विष्ट/पालिका प्रेस

यसलाई पातालगंगको समेत नाम दिइएको छ । शंखुकर्ण दैत्यले विजय प्राप्त गरेको, मोक्ष प्राप्ती गरेको, भगवान शंकरको अश्रुबिन्द परेको एउटा नारायणी गंगा जुन नारायण तिर्थबाट आएको र ऋषेश्वरबाट आएको ऋक्षेमती गंगाको संगम भएको यहिँ ठाउँ शंखमूल हो । यो विश्व प्रशिद्ध ठाउँ हो ।

यहाँ पौषे औसीमा गरेको पितृहरुको श्राद्ध कुनै प्रकारको तुलना छैन । गया, काशी, उत्तरगया, गोकर्ण आदि तिर्थहरुमा गरिएको भन्दा पनि उत्तम फल यहाँ पाइन्छ । युद्ध सकिएपछि शंङ्खमूल नामाकरण गरेपछि यहाँ देवर्षि नारद आएर पहिलो स्नान गर्नु भएको हो । देवर्षि शंखमूलमा स्नान गरेर ऋष्ोश्वरमा बस्नु भएको हो । त्यो ठाउँ अहिलेको ऋष्ेश्वर हो । शंखमुलको स्नान, मोक्षनारायणको दर्शन र पाण्डुकेश्वरको दर्शन गरे कुनै अश्वमेघ यज्ञ गर्नुपर्दैन ।

हेर्नुहोस् भिडिओ: श्रीकृष्ण श्रेष्ठ/पालिका प्रेस

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी