बागमती प्रदेश सरकारले आयोजना बैंक निर्माण तथा सञ्चालन गर्ने भएको छ । बागमती प्रदेश सरकारले यसअघि पनि योजना बैंक बनाउने भने पनि हालसम्म बनाृन सकेको थिएन । तर प्रदेश नीति तथा योजना आयोग अन्तर्गत रहने गरी सरकारले आयोजना बैंक निर्माणको काम अन्तिम अवस्थामा पु¥याएको जनाएको छ । प्रदेश सरकारको बजेट विनियोजन प्रणालीलाई व्यवस्थित गर्न र योजना छनोट कार्य प्रभावकारी बनाउन आयोजना बैंक निर्माण तथा सञ्चालनको तयारी भएको हो । केही प्रशासनिक कार्य सकेर आयोगले आयोजना बैंक सञ्चालन गर्ने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालले जानकारी दिए ।

उपाध्यक्ष नेपालका अनुसार आयोजना बैैंकको अधिकांश काम सम्पन्न गरी प्रणालीसमेत विकास भइसकेको छ । केही प्राविधिक कार्य सम्पन्न गरेर आयोजना छनोट सम्बन्धी प्रशिक्षण गराएसँगै सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा १७ मा आयोजना बैंकको व्यवस्था छ । आयोजना बैंकको औचित्य र अपरिहार्यताका विषयलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६७, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १० र ११ लेसमेत पुष्टि गरेको उपाध्यक्ष नेपालको भनाइ छ ।

आयोजना बैंक सञ्चालनका लागि आयोगले नीति तथा योजना तर्जुमा, आयोजना बैंक व्यवस्थापन, विधि र मापदण्डसहित आवधिक अनुगमन तथा मूल्याङ्कन, नीतिगत तथा कार्यगत अध्ययन अनुसन्धान कार्य गरेको छ । तीन तहको सरकारबिच समन्वय गरेर आयोजना बैंक सञ्चालनको तयारी गरिएको उनले बताए । आयोजना बैंक सञ्चालनका लागि आयोगले अन्तरप्रदेश, विकास साझेदार संस्थाहरूसँग समेत समन्वय गरेको छ ।

पालिका प्रेस
थप जानकारी