थाहा नगरपालिकाको प्रशिद्ध धार्मिक स्थल मध्येको एक हो ‘चम्पाकेश्वर महादेव’ । थाहा नगरपालिका वडा नम्बर १० मा पर्ने यस मन्दिरमा मुख्य गरेर प्रत्येक वर्षको १ गते विशेष जात्रा तथा मेला लाग्ने भएपनि वर्षेनी साउनको सोमबार पनि विशेष खालकै मेला लाग्ने गर्दछ ।

यस मन्दिरमा साउन महिनाभर स्नान गर्न तथा पुरा पाठका लागि भक्तजनहरु पुग्ने गर्दछन् । मन्दिर छेवैमा रहेको खोला (नदि)मा स्नान गर्ने र मन्दिरमा पुजा गर्ने प्रचलन रहेको छ । चित्लाङका गोपाली र गमालहरुले झन यस मन्दिरलाई विशेष गरी पुजा तथा आरधना गर्ने गर्दछन् । महादेवकाे ६४ ज्याेतिर्लिङ्ग मध्ये मकवानपुर जिल्लाकाे थाहा नगर चित्लाङ्ग बिसिङ्खेलमा पर्ने याे मन्दिर धार्मिक रुपमा निकै महत्त्व बाेकेकाे मन्दिर हाे ।

के छ किम्बदन्ती ?

धार्मिक ग्रन्थ रामायणको पात्र वाणासुरको कथासँग चम्पाकेश्वर महादेवको उत्पत्तिको प्रसंग जोडिएकोले चम्पाकेश्वर महादेवको उत्पत्ति आदि कालमै भएको दाबी छ । गोपाली जातीको बाहुल्यता रहेको यो क्षेत्रमा नाच र जात्रा चलाउन गुठीको ब्यवस्था गरिएको छ ।

यस भेगमा पानी नपरेमा पानी माग्न र गाईवस्तुको रक्षाको लागि चम्पाकेश्वर महादेवलाई पुज्ने बताइन्छ । यस मन्दिरमा पुख्यौँली घर पाटन रहेका राजोपाध्याय खलकका पूजारी छन् । प्रत्येक वर्ष जात्रामा विशेष पुजाका लागि महादेवलाई जाँड र एकैपटक कुटिएको चिउरा चढाउनुपर्छ । जसलाई स्थानीय वासिन्दा ककः बजी भन्दछन् ।

सोही दिन बेलुकी काठको लठ्ठी ठोकाठोक गरेर टाउकोमा पगरी र पगरीभरि फूल सिउरेर स्थानीय गोपालीहरुले घरबुना खेसका कपडा लगाएर नाच देखाउने चलन रहेको छ । उक्त नाचलाई स्थानिय भाषामा ‘ट्वाक प्याखँ’भनिन्छ ।

स्थानिय गोपालवंशी ग्वालाहरुको अत्यन्त श्रद्धाको पर्व चम्पाकेश्वर मेलामा विभिन्न गुठीयारहरुले चार घेम्पो जाँड ल्याउने प्रचलन छ । कीरा परिसकेको उक्त जाँड र ‘कक बजी’ प्रसादको रुपमा खाएमा पेटका रोग निर्मुल हुने जनविश्वास छ ।

किम्बदन्ती अनुसार हालको थानकोटलाई प्राचीन कालमा शोणितपूर भनिन्थ्यो । त्यहा राजा बाणासुर ले राज्य गर्दथे । एक दिन शिकार खेल्न राजपरिवार र सेनाहरु चन्दागिरी जंगल हुँदै बिसिङखेलको वनमा आइपुगेको स्थानिय बासिन्दा बताउँछन् ।
उक्त वनको एउटा रुखमा फूलिरहेको चापको फूल राजकुमारीले देखेपछि उनी लोभिएको र उक्त फूल टिपेर ल्याउन अनुरोध गरिएको स्थानिय बुढापाकाहरु बताउँछन् ।

कथाअनुसार फूलको रुखको फेदबाट हेर्दा फूल देखिने र टुप्पोमा पुग्दा हराउने गरेपछि राजालाई साहृै रिस उठेछ । त्यसपछि कलाँटु गाँउका काठका काम गर्ने ब्यक्तिहरुलाई बोलाएर उक्त रुख काट्न आदेश दिएछन् । रुख काट्दा रगत आएको र एउटा ज्योर्तीलङ पैदा भएपछि कलाँटुका गमालहरुले उक्त लिङ्ग आफ्नो गाँउमा लगेर राखेछन् । तर, त्यो रात गाँउमा कुखुराको भाले नबासेपछि केहि अनिष्ट भयो भन्ठानेर गाँउलेमा चिन्ता बढेछ ।

क्षमापुजा गरेपछि आकाशवाणी भएर ‘सोझा जाती गोपाली बस्ने टौखेलमा मलाई लगेर राख्नु’ भनेपछि अझै पनि जात्राको दिन टौखेलबाट शिवलिङ्ग ल्याउने र जात्रा सकिएपछि फिर्ता लैजाने प्रचलन रहेको छ । अहिले पनि चाँपको रुखको ठुटो हालसम्म मन्दिरमै छ ।

फोटोहरुः गणेश विष्ट /पालिका प्रेस

बागमती प्रदेशका ६४ सिद्धज्योतिर्लिंग

१. कुशेश्वर महादेव, दुम्जा, सिन्धुली, २. भीमेश्वर महादेव, दोलखा, ३. काफीश्वर महादेव, बाह्रबिसे, सिन्धुपाल्चोक, ४. कश्यपेश्वर महादेव, मण्डन, काभ्रेपलाञ्चोक, ५. स्फटिकेश्वर महादेव, फटकशीला, सिन्धुपाल्चोक, ६. चण्डेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक, ७. धनेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक, ८. विकटेश्वर महादेव, साँगा, काभ्रेपलाञ्चोक, ९. इन्द्रेश्वर महादेव, पनौती, काभ्रेपलाञ्चोक, १०. भालेश्वर महादेव, रोसी, काभ्रेपलाञ्चोक, ११. गुप्तेश्वर महादेव, भारदेउ, ललितपुर, १२. तिलेश्वर महादेव, लेले, ललितपुर, १३. चम्पकेश्वर महादेव, लेले, ललितपुर, १४. रामेश्वर महादेव, टीकाभैरव, ललितपुर, १५. कालेश्वर महादेव, गोटीखेल, ललितपुर, १६. नटारम्भेश्वर महादेव, ठिंगन, मकवानपुर, १७. उद्दालकेश्वर महादेव, छैमले, काठमाडौं, १८. गोपालेश्वर महादेव, फर्पिङ, काठमाडौं, १९. चम्पेश्वर महादेव, विसखेल, मकवानपुर, २०. उन्मत्तेश्वर महादेव, टिस्टुङ, मकवानपुर, २१. नन्दिकेश्वर महादेव, टिस्टुङ, मकवानपुर, २२. गोखुरेश्वर महादेव, कुन्छाल, मकवानपुर, २३. पाण्डुकेश्वर महादेव, पालुङ, मकवानपुर, २४. कूटेश्वर महादेव, महादेवखर्क, मकवानपुर, २५. असितेश्वर महादेव, अम्लेश्वर, धादिङ, २६. भैरवेश्वर महादेव, देवीघाट, नुवाकोट, २७. ब्रह्मेश्वर महादेव, कविलास, नुवाकोट, २८. कार्तिकेश्वर महादेव, कविलास, नुवाकोट, २९. शतरुद्रेश्वर महादेव, शिवपुरी, काठमाडौं, ३०. काकेश्वर महादेव, गागलफेदी, काठमाडौं, ३१. मणिचूडेश्वर महादेव, मणिचूड पर्वत, काठमाडौं, ३२. योगेश्वर महादेव, बज्रयोगिनी, काठमाडौं, ३३. नारायणेश्वर महादेव, लप्सीफेदी, काठमाडौं, ३४. ज्योतिर्लिंगेश्वर, साँखु, काठमाडौं, ३५. रत्नचूडेश्वर महादेव, नगरकोट, भक्तपुर, ३६. वागीश्वर महादेव, वागीश्वर, भक्तपुर, ३७. कीलेश्वर महादेव, चाँगुनारायण, भक्तपुर, ३८. वाल्मीकेश्वर महादेव, भक्तपुर, ३९. मंगलेश्वर महादेव, उलाछें, भक्तपुर, ४०. विमलेश्वर महादेव, सिपाडोल, भक्तपुर, ४१. अनन्तलिंगेश्वर महादेव, भक्तपुर, ४२. विश्वरूपेश्वर महादेव, भक्तपुर, ४३. सोमेश्वर महादेव, गुण्डुखोला, भक्तपुर, ४४. गोभराटेश्वर महादेव, लुभु, ललितपुर, ४५. भृंगेश्वर महादेव, सुनाकोठी, ललितपुर, ४६. त्रिलिंगेश्वर महादेव, पाटन, ललितपुर, ४७. कुपितेश्वर महादेव, पाटन, ललितपुर, ४८. सर्वेश्वर महादेव, पाटन, ललितपुर, ४९. गोलोकेश्वर महादेव, नैकाप, काठमाडौं, ५०. चन्दनभराटेश्वर महादेव, थानकोट, काठमाडौं, ५१. यक्षेश्वर महादेव, सीतापाइला, काठमाडौं, ५२. चण्डिकेश्वर महादेव, टोखा, काठमाडौं, ५३. धर्मेश्वर महादेव, टोखा, काठमाडौं, ५४. गोकर्णेश्वर महादेव, गोकर्ण, काठमाडौं, ५५. कोटीश्वर महादेव, कोटेश्वर, काठमाडौं, ५६. वाणेश्वर महादेव, बानेश्वर, काठमाडौं, ५७. ज्ञानेश्वर महादेव, ज्ञानेश्वर, काठमाडौं, ५८. पर्वतेश्वर महादेव, पशुपति, काठमाडौं, ५९. जलेश्वर महादेव, पशुपति, काठमाडौं, ६०. गुह्येश्वर महादेव, गुह्येश्वरी, काठमाडौं, ६१. किरातेश्वर महादेव, मृगस्थली, काठमाडौं, ६२. भस्मेश्वर महादेव, पशुपति, काठमाडौं, ६३. भुवनेश्वर महादेव, पशुपति, काठमाडौं, ६४. रुद्रागारेश्वर महादेव, पशुपति, काठमाडौं ।

उल्लिखित ६४ सिद्धज्योतिर्लिंगसँगै ललितपुरको महारुद्रेश्वर, ललितपुरकै सन्तानेश्वर, काठमाडौंका बौडेश्वरलगायत अन्य ठाउँमा रहेका चर्चित मन्दिरहरू उपयुक्त शिवधाम हुन् । यी धामहरू कुनै एकै समयमा निर्माण भएका होइनन् । यिनमा समाहित आस्था, विश्वास र ऊर्जा कालातीत छन् । जब यी सबैलाई एउटै आध्यात्मिक मार्गमा जोडिन्छ, तब ‘शिव सर्किट’को महत्व बढ्न जान्छ । यी धाम धार्मिक यात्रासँगै एक गहिरो साधनाका लागि उपयुक्त क्षेत्र हुन् । यी धाममा प्रत्येक पाइलाले भक्तलाई आत्मबोधको नजिक पुर्‍याउँछ ।

 

 

गणेश विष्ट
थप जानकारी