मकवानपुर थाहा नगरस्तरीय मेयर कप अन्तरवडा फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १ र ७ भिड्ने भएका छन् । वडा नम्बर ७ गत वर्षको विजेता वडा हो । २५ माघमा भएको प्रतियोगितामा दुवै टिम ‘सडन डेथ’ आफ्ना प्रतिस्पर्धीलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

प्रतियोगितामा वडा नम्बर ७ ले ३ लाई र वडा नम्बर १ ले ४ नम्बर वडालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् । अघिल्लो वर्षको वडा कप फुटबलमा पनि यहि दुई वडा फाइनलमा पुगेका थिए । चित्लाङमा भएको फाइनल खेलमा २–१ गोल अन्तरले ७ नम्बर वडा विजयी भएको थियो ।

प्रतियोगिताको फाइनल खेल २६ माघमा हुने आयोजक ऋषेश्वर ११ फुटबल क्लबले जानकारी दिएको छ ।

प्रतियोगिताका विजयी वडाको टिमले नगद ५० हजार र द्वितीय हुनेले ३० हजार रुपियाँ पुरस्कार पाउने छन् । नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । थाहा नगरपालिकाको आयोजना तथा ऋषेश्वर ११ फुटबल क्लबको व्यवस्थापनमा इन्द्रायणी चौर खेल मैदानमा २२ माघबाट प्रतियोगिता शुरु भएको हो । खेल नकआउटको आधारमा खेलाइएको थियो ।

पालिका प्रेस
थप जानकारी