बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ७० अर्बको बजेट ल्याउँदै छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट प्रस्तुत गर्नेछन् । ‘६८ अर्बभन्दा नघट्ने र ७० अर्बभन्दा नबढ्ने गरी बजेट प्रस्तुत हुने छ’ मन्त्रालय स्रोतले भन्यो ।

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको थियो । आर्थिक वर्ष २०८२/८३ का लागि बागमती प्रदेशका मन्त्रालयहरुले शनिबार अबेर रातिसम्म प्रदेशको बजेट प्रणाली (पीएलएमबीएस)मा बजेट विवरण प्रविष्ट गरेका छन् । ‘रातिसम्म लगाएर बजेट इन्ट्रीको काम सकाएका छौं । करिब ३ अर्ब हाराहारीका योजना रहेका छन्,’ कृषि मन्त्रालय स्रोतले भन्यो ।

शनिबार मन्त्रालयहरुलाई करिब साढे २ अर्ब रुपैयाँको सिलिङ थप गरिएको एक सांसदले जानकारी दिए । शनिबार सिलिङ थप गरिएको दोस्रो पटक हो । गत हप्ता (चार दिन अगाडि) आर्थिक मामिला मन्त्रालयले पहिलो पटक सिलिङ थप गरेको थियो । ‘यस वर्ष दोस्रो पटक सिलिङ थप हुँदा ५ अर्ब रुपैयाँ भन्दा बढीको बजेट बढेको छ,’ ती सांसदले भने ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले यसअघि गत ४ वैशाखमा मन्त्रालयहरुलाई ५५ अर्बको बजेट सिलिङ पठाएको थियो । आर्थिक मामिला मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ वटा मन्त्रालयमध्ये आधालाई अर्ब माथिको र आधालाई करोडमा बजेट सिलिङ पठाएको थियो ।

५५ अर्बको सिलिङ दुई चरणमा गरेर ५ अर्ब बढी थप गरिएपछि झण्डै ६२ अर्बमा सिलिङ पुगेकोले बजेट पनि ६८ अर्ब हाराहारीको हुने सांसदहरु बताउँछन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकाल पनि सिलिङ वृद्धि भएको आधारमा ६८ देखि ७० अर्बको बजेट हुने बताउँछन् ।

आर्थिक मामिला मन्त्रालयले ५५ अर्बको मात्रै सिलिङ पठाउँदा ठूलो आकारमा बजेट घट्ने भएकाले मन्त्रीहरु असन्तुष्ट बनेका थिए । मन्त्रीहरुले बजेटको पूर्वतयारी छलफलमा खुला रुपमै सिलिङप्रति असन्तुष्टी व्यक्त गर्दै बढाउन माग गरेका थिए । दुई चरणमा गरेर सिलिङ थप भएपछि सरकारभित्रको असन्तुष्टी हटेको सत्तारुढ दलका एक सांसदले बताए ।

-अनलाइनखबरबाट

पालिका प्रेस
थप जानकारी