मकवानपुरमा विभिन्न प्रकृतिका १२ सय ६३ थान मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालयले यस्तो जानकारी दिएको हो । अघिल्लो आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत प्रहरी कार्यालयहरुबाट भए गरेका कार्य विवरण प्रस्तुत गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले गतवर्ष कार्यालयमा १२ सय ६३ थान मुद्दा दर्ता भएको जानकारी दिए । उनका अनुसार अपराध अनुसन्धानतर्फ एक हजार ७५ मुद्दा दर्ता भएका छन् भने ९ सय २८ जनालाई पक्राउ गरिएको छ ।
प्रवक्ता अर्यालका अनुसार ट्राफिक व्यवस्थापन तथा कारबाहितर्फ ३० हजार ३४ थान सवारीलाई कारबाही गरिएको छ भने ४०७ सवारी दुर्घटनामा परेका छन् जसमा ५० जनाले ज्यान गुमाएका छन् । प्रहरीले गतवर्ष मादकपदार्थ सेवन गरी सवारी चलाउने ८४४ र लागूपदार्थ सेवनगरी सवारी चलाउने २१ जनालाई कारवाही गरेको छ । प्रहरीले गतवर्ष सवारीतर्फ २ करोड ४१ लाख ४५ हजार ०५४ रुपैयाँ राजस्व संकलन गरेको प्रवक्ता अर्यालले जानकारी दिएका छन् ।
त्यस्तै लागुऔषध शीर्षकमा १ सय ८८ थान मुद्दा दर्ता भएकोमा लागुऔषध कारोबार तथा ओसार प्रसार शीर्षकमा २ सय ८९ जनालाई पक्राउ गरिएको छ । गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६ हजार ४ किलो गाँजा, चरेश ५१ किलो ७१० ग्राम, अफिम २६ किलो ८८० ग्राम, कोरेक्स ६२८ बोतल, नाइट्राभेटर ट्रामाडोल ९५हजार २ सय ७१ क्यापसुल बरामद गरेको छ ।
त्यस्तै प्रहरीले डाईजेपाम २७५७ एम्पुल, खैरोहेरोइन ४७६ ग्राम ४३३ मिलिग्राम बरामद गरेको छ । प्रवक्ता अर्यालका अनुसार गतवर्ष मात्र चोरीका ५५ वटा सवारीसाधन बरामद गरिएको छ भने चोरीका घटनामा २८९ जना मानिसलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गतवर्ष ४ सय २१ जना प्रहरी परिचालन गरी १२० विगाहा ४ कठ्ठा जमिनको गाँजा र ३९ बिगाह १४ कठ्ठा जमिनको अफिम फडानी गरेको तथ्यांक सार्वजनिक गरेको छ । प्रहरी कार्यालय मकवानपुरका अनुसार अवैध भन्सारछलि नियन्त्रणतर्फ २ करोड ५९ लाख १९ हजार ९९३ रुपैयाँ बराबरको लत्ताकपडा तथा खाद्यान्न, १२ करोड १७ लाख २७ हजार ५०६ रुपैयाँ बराबरको ८ किलो ७३५ ग्राम १४३ मिलिग्राम अवैध सुन, ३ लाख ६६ हजार ५४९ मूल्य बराबरको २ किलो १९६ ग्राम चाँदी बरामद गरिएको छ ।
प्रहरीले अवैध भन्सार छलि ल्याइएका १६ करोड छ लाख ९५ हजार चारसय ७३ रुपैयाँ विदेशी मुद्रा नियन्त्रणमा लिएको छ । यी समयमा प्रहरीले अवैध गिट्टीबालुवा उत्खनन् नियन्त्रणतर्फ १६२ थान टयाक्टर, ३१ थान टिप्पर र दुई थान स्काभेटरलाई नियन्त्रणमा लिएको छ । जसमार्फत् ११ लाख १५ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । गतवर्ष जिल्ला प्रहरी कार्यालय मकवानपुरले १८३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ भने फैसला कार्यान्वयनमार्फत् १ करोड २१ लाख ७३ हजार ८०५ रुपैयाँ जरिवाना असुलउपर गरेको छ ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्