धादिङ जिल्लाको गल्छी गाउँपालिकाले मकैको खोया किन्ने भएको छ । गाउँपालिकाले मकैको खोया उपलब्ध गराउन कृषक र अन्य सर्वसाधारणलाई सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ । भक्तपुर चाँगुनारायण नगरपालिका-३ मा सञ्चालित बिनिसा एन्ड भावेश मसरुम उद्योगले प्रतिकेजी ५ रुपैयाँमा खरिद गर्ने खबर आएको भन्दै गल्छीले खोया उपलब्ध गराउन शुक्रबार सूचना प्रकाशन गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलले साउन १५ गते निकालेको सूचनामा खोया पानीमा भिजेको हुन नहुने र राम्रोसँग सुकेको हुनुपर्ने, प्रतिकेजी ५ रुपैयाँ दरमा खरिद गरिने, खोया संकलन गर्न जोख्न र भण्डारण गर्न सहयोग गर्ने कृषक समूह, सहकारी वा सर्वसाधारणलाई प्रतिकिलो १ रुपैयाँका दरले उपलब्ध गराउने, एक टिप संकलन भएपश्चात् कम्पनीले हिसाब भुक्तानी गरेर  खोया ढुवानी गर्ने लगायतका सर्त उल्लेख छन् ।

तर,पालिकाको सूचनाप्रति स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन् । गाउँपालिकाले तोकेको मूल्यमा एक सय केजी खोया किनिदिने गल्छी ७ का उत्तम धितालले वताएका छन् ।

यसै गरी किसानलाई मकैमा आल्न मल दिन नसकेपछि मकैमा दाना नलाग्ने भएर खोया बिक्रीको योजना अघि सारेको गल्छी ६ का रामचन्द्र अधिकारीकोे प्रतिकृया छ , उनि भन्छन ५ रुपैयाँ किलोमा खोया बेचेर अब १० रुपैया किलोमा दाउरा किन्ने त होला भन्दै प्रश्न गरेका छन् ।

गाउँपालिकाले आफ्नो फेसबुक पेजमा पोष्ट गरेको खोया बिक्रीको सूचनामा साउन १६ गते विहान ६ वजेर २८ मिनेट सम्ममा ५५ जनाले प्रतिकृया दिएका छन् । अधिकांशले पालिकाको निर्णय अव्यवहारिक भएको वताएका छन् ।

खोया बेच्नुभन्दा आफ्नै ठाउँमा खोयाबाट च्याउ उत्पादन गर्ने कार्यक्रम ल्याउनु राम्रो हुने धेरैको सुझाव छ । पाँच रुपैयाँमा खोया बेचेर ३०० रुपैयाँ किलोको च्याउ किनेर खाने कुरा राम्रो नभएको सर्वसाधरणको प्रतिकृया छ ।

स्थानीयहरूले पालिकाको सूचनामा उल्लेख गरिएको मूल्य व्यवहारिक नरहेको बताएका छन् ।

यसअघि नुवाकोटको पञ्चकन्या गाउँपालिका , विदुर नगरपालिकाले पनि खोया खरिदको सूचना सार्वजनिक गरेको थियो ।

सूचना हेराैं

पालिका प्रेस
थप जानकारी