बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले ३ भाद्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालनमा रहेका विभिन्न शैक्षिक कार्यक्रमहरुको विस्तृत अवलोकन गरेका छन् । मन्त्री थापाले प्रतिष्ठानका कक्षाहरु संचालनमा रहेका नलेज भिलेज, गौरीटार र हुप्रचौर तथा अनुसन्धान केन्द्रको अवलोकन गर्दै आवश्यक निर्देशनसमेत दिए ।
अनुगमन पश्चात् उनले प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको आधारभूत अस्पतालहरुको निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै ती अस्पतालमा सेवा विस्तारका लागि आवश्यक दक्ष जनशक्ति यही प्रतिष्ठानबाट उत्पादन हुने विश्वास व्यक्त गरे । यसै क्रममा मन्त्री थापाले प्रतिष्ठानले छोटो अवधिमै उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै यसलाई स्थापित गर्न सरकार प्रतिवद्ध रहेको बताए । छिटोभन्दा छिटो नयाँ भवन निर्माण सम्पन्न गरी आफ्नै भवनबाट कक्षा सुचारु गराउने पनि उनले बताए ।
चिकित्सा शिक्षा आयोगले यसै शैक्षिक सत्रदेखि प्रतिष्ठानलाई ५० सिटका लागि एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने स्वीकृति प्रदान गरिसकेको छ । यसअघि नै यहाँ बीएस्सी नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ र ब्याचलर अफ फार्मेसी जस्ता स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेका छन् । यसबाहेक यसै शैक्षिक वर्षदेखि प्रतिष्ठानमा मास्टर तहका सात विषय स्त्री तथा प्रसूति, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा अध्यापन सुरु हुने भएको छ । अनुगमन कार्यक्रममा मन्त्रालयका सचिव डा। सुमित्रा गौतम, प्रतिष्ठानका उपकुलपति डा। प्रदीप ज्ञवाली, शिक्षाध्यक्ष डा दिनेश कुमार लम्साललगायतको सहभागिता रहेको थियो ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्