बागमती प्रदेश सरकारले चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले ३ भाद्रमा चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गर्न निर्देशन दिइएको जानकारी दिएका छन् ।
मुख्यमन्त्री बानियाँका अनुसार ३ भाद्रमा चट्याङ लागेर मृत्यु भएका मनहरी गाउँपालिका–६, दैलीडाँडाका विशाल ब्लोनको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश विपद् कोषबाट रकम उपलब्ध गराउने गरी निर्णय प्रक्रिया अघि बढाउन मुख्यमन्त्री बानियाँले निर्देशन दिएका छन् । प्रदेशका प्रमुखसचिव भुपाल बराललाई चट्याङ लागेर मृत्यु भएका ब्लोनको परिवारलाई रकम उपलब्ध गराउन प्रक्रिया पूरा गर्न मुख्यमन्त्री बानियाँले निर्देशन दिएका हुन् । मुख्यमन्त्री बानियाँले यो घटनामा घाइते भएकाहरुको सहज उपचारको लागि स्थानीय तहको समन्वय गरेर आवश्यक व्यवस्था मिलाउन पनि निर्देशन दिएको बताए ।
‘विपद्बाट आहत भएका नागरिकको साथमा प्रदेश सरकार सदैव रहन्छ । सोहीअनुसार मंगलबार चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउन निर्देशन दिइएको हो’ उनले भने, ‘यो घटनामा घाइते भएकाहरुको उपचार भइरहेको छ । गाउँपालिकाले निःशुल्क उपचारको प्रबन्ध गरेको छ । यदि गाउँपालिकालाई खर्च व्यहोर्न समस्या देखियो भने प्रदेश सरकारले व्यवस्थापनको काम गर्ने गरी प्रक्रिया मिलाउन निर्देशन दिएको छु ।’ मुख्यमन्त्री बानियाँको निर्देशनअनुसार मुख्यसचिव बरालले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् महाशाखाप्रमुख सुरेश खनाललाई आवश्यक कानुनी व्यवस्थाअनुसार प्रक्रिया पूरा गर्न र विपद् व्यवस्थापन परिषद् तथा विपद् व्यवस्थापन कार्यकारी परिषद्को बैठक आह्वान गर्ने एजेण्डा तयार गर्न निर्देशन गरेका छन् ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्