जेनजी आन्दोलनमा सार्वजनिक सम्पत्ति क्षति हुँदा खुसी मनाउने गाउँपालिकाका कर्मचारी र शिक्षकहरूलाई तुरुन्त राजीनामा दिन सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले निर्देशन गरेको छ।

शनिबार सामाजिक सञ्जालमार्फत गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले देश जल्दै गर्दा खुशी मनाउने कर्मचारी र शिक्षकलाई आइतबारबाटै काममा नआई राजीनामा दिन भनेका हुन्। जेनजी आन्दोलन भ्रष्टाचार विरुद्ध भएको हुँदा आन्दोलनको पक्षमा आफ्नो राख्नु स्वाभाविक भएको बताउँदै अध्यक्ष स्याङ्बोले हदै गर्ने कर्मचारी र शिक्षकलाई राजीनामा दिन आग्रह गरेको बताए।

‘जेनजी आन्दोलन भ्रष्टाचार विरुद्ध थियो। यो आन्दोलन हामी सबै नेपालीको हो। यसको पक्षमा उभिनु, मत राख्नु स्वाभाविक थियो। तर जुगल गाउँपालिकाको केही कर्मचारी र शिक्षक शिक्षिकाहरू सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन लगायतका संरचनाहरू जलाउँद र देश जल्दै गर्दा खुशी मानी अब स्थानीय सरकारहरूको पालो भन्दै कमेन्ट, पोस्ट गर्नेहरू भोलिदेखि हाजिर नहुनुहोला’, उनले लेखेका छन्– ‘तपाईंहरू सरकारी कर्मचारी हुन लायक छैन। अब देशको ठूलो धनराशी तपाईंहरू खुशी हुन जलाएको संरचनाहरू बनाउन लाग्छ। आफैंले बुजेर राजीनामा दिनुहुन अनुरोध छ। हामी तपाईंहरूजस्तो भष्माशुरहरूलाई राख्न सक्दैनौं।’

सामाजिक सञ्जालमा कमेन्ट, पोस्ट गर्ने त्यस्ता कर्मचारी र शिक्षक शिक्षिकाको तथ्यांक संकलन भइसकेको जनाउँदै अध्यक्ष स्याङ्बोले राजीनामा नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउने जनाए।

पालिका प्रेस
थप जानकारी