जेनजी (नयाँ पुस्ता) को आव्हानमा २४ भदौमा भएको आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गरिएको मकवानपुरका स्थानीय तह, सरकारी कार्यालय, सरकारी तथा व्यापारिक प्रतिष्ठानमा सरसफाई थालिएको छ । आन्दोलनका क्रममा गरिएको आगजनी र तोडफोडबाट मकवानपुरका वडा कार्यालयदेखि प्रदेश सरकारका मन्त्रालयहरुसम्ममा ठुलो परिमाणमा क्षति पुगेको छ ।

प्रदेशको राजधानीसमेत रहेको हेटौँडामा सबैभन्दा बढी प्रदेशका संरचना भ्रष्टाचार विरुद्ध सडकमा उत्रिएका आन्दोलनकारीको निशाना परेको छ । कतिपय व्यक्तिका निजी सम्पत्तिमा समेत आन्दोलनकारीले मंगलबार भएको आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएको छ । स्थानीय जनजीवन सामान्य बन्दै गएसँगै हेटौँडा उपमहानगरपालिका, अदालतलगायतका कार्यालयहरु २९ भाद्रबाट सेवा आंशिक रुपमा सुचारु गरिने भएको छ ।

हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले २९ भाद्रबाट सेवा प्रवाह गर्ने जानकारी दिए । उपमहानगर कार्यालयमा भएको तोडफोड र आगजनीबाट ठुलो क्षति भएको छ उनले भने, उपलब्ध साधन स्रोत र थप साधन स्रोतको जोहो गरेर आइतबारबाट सेवा सुचारु गर्दैछौ । उनले २४ भाद्रबाट कार्यालय बन्द हुँदा नागरिकका सामान्य समस्या अड्किएर बसेका छन्, फोनहरु आइरहेको छ भन्दै कार्यालय बन्द हुँदा सामान्य सिफारिशमा नागरिकले पाउने सुविधासमेतबाट वञ्चित हुने अवस्था रहेकोले सेवा सुचारु गर्न लागेको बताए । थाहा नगरपालिकामा आन्दोलनकारीहरुले झ्यालका सिसाहरु फुटाएका भएपनि सरसफाइ गरी सेवा प्रवाह थालिएको नगर प्रमुख विष्णु बहादुर विष्टले जानकारी दिए ।

बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानले पालिकाबाट प्रदान गर्ने सेवा आइतबारबाट सुचारु गर्ने बताए । उनले आगजनी र तोडफोडबाट भौतिक संरचनाहरुमा क्षति भएपनि कागजपत्र सुरक्षित रहेको भन्दै अब सेवा प्रवाहसँगै विकास निर्माणका कामलाई पनि पूर्ववत् सुरु गरिने बताए । पाटन उच्च अदालत पाटन, हेटौँडा इजलाश र जिल्ला अदालत मकवानपुरले पनि २९ भाद्रबाटै आंशिक रुपमा सेवा सुचारु गरेका छन् । दुवै अदालतमा अदालतका कर्मचारी र कानुन व्यवसयाीले सरसफाई गरेका थिए ।

मकवानपुर जिल्ला अदालत, हेटौँडाले भदौ २४ गते जिल्ला अदालतमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाका कारण अदालतको भौतिक संरचना एवं सूचना प्रणाली क्षतिग्रस्त भएको हुँदा हाल यस अदालतको नियमित कामकारवाहीहरु अवरुद्ध भएको जनाएको छ । अदालतका श्रेस्तेदार रोशी भण्डारीले २९ भाद्रबाट बन्दी प्रत्यक्षीकरण, पक्राउ अनुमति/स्वीकृति, कल डिटेल, म्याद थप र थुनछेकको सुनुवाईको कार्य शुरु भएको बताए । उनले अन्य मुद्दाका कामकारवाही सुचारु गर्ने सम्बन्धमा यथा समयमा जानकारी गराईने भन्दै विषम परिस्थितिका वावजुद अदालतबाट मुद्दा दर्ता एवं सुनुवाई समेतका कामकारवाही सुचारु गर्ने सम्बन्धमा प्रयत्न भईरहेको जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी