सप्तरीका १० पालिकाले दशैँमा पनि कर्मचारीलाई तलब दिएका छैन । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् ।   दशैँमा समेत तलब नपाउँदा आफूहरूलाई निकै समस्या भएको राजविराज नगरपालिकाक एक कर्मचारीले  बताए । ‘यो बेला तलब नपाउने भए पछि बालबच्चालाई लुगा फाटो गर्न,  घर खर्च चलाउन ऋण खोज्दैछु’ उनले भने ।

बिहिबारसम्म आठ पालिकाले कोष तथा लेखा नियन्त्रक कार्यालयमा रकम निकासाको प्रक्रिया गर्न सकेको छ‌ । स्थानीय सरकार संचालन ऐनको दफा ७३(१)मा पारित बजेटको सात दिन भित्र खर्चको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई पालिका प्रमुखले दिनुपर्ने प्रावधान छ । तर चालु आर्थिक वर्षको दुई महिना बितिसक्दा पनि अधिकांश पालिकाले अख्तियारी दिएको छैन् ।

‘कानुनमा पालिका प्रमुखले अख्तियारी नदिएसम्म त तलब दिन सक्ने अवस्था छैन, कानुन अनुसार बजेट पारित भएको सात दिनभित्रै दिनुपर्ने हो तर हालसम्म पनि दिएको छैन्,’ एक पालिकाका प्रमुख प्रशासकीय अधिकृतले भने, ‘यसको कानुनमा वैकल्पिक कुनै उपाय पनि छैन्।’

हाल दश स्थानीय तहले आर्थिक कारोबार सुरु नगरेको कोष तथा लेखा नियन्त्रण कार्यालय सप्तरीको तथ्याङ्क छ । राजविराज, शम्भुनाथ, कञ्चनरुप, खडक नगरपालिका, अग्निसाइर कृष्णासवरण, तिलाठीकोइलाडी, छिन्नमस्ता , तिरुहुत, बलानबिहुल, बिष्णुपुर गाउँपालिकाले आर्थिक कारोबार सुरु गरेको छैन ।

बिहिबार डाक्नेश्वरी र सुरुङ्गा नगरपालिकाको निकासाको प्रक्रिया भइरहेकोसहित आठ वटा पालिकाले आर्थिक कारोबार सुरु गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख इन्द्र बहादुर लुङ्गेलीले बताए । सप्तकोशी, बोदेवरसाइन, हनुमाननगर कंकालिनी नगरपालिका, महादेवा, राजगढ र रुपनी गाउँपालिकाले आर्थिक कारोबार सुरु गरेको छ । आर्थिक कारोबार सुरु नभएका पालिकामा दशैंमा समेत कर्मचारीलाई तलब दिने अवस्था नरहेपछि उनीहरू निराश भएका छन् ।

पालिका प्रेस
थप जानकारी