- ज्ञानमणि नेपाल कालोटोपी
समस्या होस् वा नहोस् मानिसको आवश्यकता सधैं पर्छ । यति हो कि कोही आवश्यकताले जन्मिन्छन् कोही जन्मिएपछि आवश्यकता पर्छ । यतिबेला कसैको चर्चा छ भने विपदमा छटपटिएका पीडितका घाउमा मल्हम लगाउने मण्डनदेउपुरका सशस्त्र प्रहरी नायव निरिक्षक सुरेन्द्र डोटेलको पनि चर्चा छ । उनी चर्चामा आउने एउटै कारण हो गत असोज १७ र १८ गतेको अविरल वर्षाले इलाममा निकै क्षति पुर्याउँदै थियो ।
३७ जना नागरिकको ज्यान गएको इलाममा सुरेन्द्र अग्रपंक्तीमा पीडितहरुलाई उद्धार गरिरहेका थिए । नागरिकहरु सबैतिर दशैं मनाइरहेका थिए तर उनी दशैंकै बीचमा पनि चार्ड मनाउन घर जान पाएनन् । त्यहीबेला बाढीपहिरो प्रभावितको उद्धारमा खटिँदै थिए उनी । इलामका बाढीपहिरो प्रभावितको उद्धार गर्दै गर्दा, घाइते र मृतकको शव उचाल्दै गर्दा कुनै झरि र हिलोको वास्ता नगरि काम गरेका तस्बीरहरु सार्वजनिक भएसँगै यतिबेला सुरेन्द्र डोटेलको चर्चा पनि चुलिएको हो ।
हाल सशस्त्र बल नेपाल नम्बर १ इलामको अन्तुडाडा अन्तर्गत बोर्डर आउट पोष्ट इलामको मानेभज्याङमा उनी कमाण्डरको रुपमा कार्यरत छन् । १८ गते बिहान चार बजे उनलाई आफूहरु खटिएको ठाउँभन्दा केही पर घरमा मान्छेहरु पुरिएका छन् भन्ने खबर आयो । सो खबर पाएलगत्तै आवश्यक बन्दोबस्तीका सामानसहित विपद् व्यवस्थापनको तालिम लिएका थप ६ जनाको टोली लिएर उनी घटनास्थल पुगे ।

२०७२ सालको भूकम्पमा काठमाण्डौंमा उद्धारमा खटिएका डोटेल ।
उनीसँग नेपाल प्रहरीका तीन जना जवान पनि थिए । स्थानीयको सहयोगमा उनको टोलीले चार घण्टाको अथक प्रयासपछि दुई जनाको सकुशल उद्धार गर्यो । त्यहाँबाट पाँच जनाको शव उनले निकाले । पानी परिरहेको थियो । हिलो उस्तै थियो । आफूले लगाएको कपडा पूरै हिलोले छोपिएको थियो । तैपनि उनले यसलाई सामान्य लिँदै नागरिकको सेवामै खटिइरहे ।
विद्यालय पढ्दादेखि नै निकै मिलनसार र मिहेनती थिए, काभ्रेको मण्डनदेउपुरका सुरेन्द्र डोटेल । ०५५ सालमा एसएलसी परीक्षा दिए लगत्तै उनलाई राष्ट्रसेवामा समर्पित हुने मन आयो । तर गाउँमा त्यतिबेला सम्भावना पनि थिएन । ०६० सालतिरको कुरा हो, सुरेन्द्रका मामाका छोराहरु पुष्कर दुलाल र राजाराम दुलाल सशस्त्र प्रहरी बलमा कार्यरत थिए । उनीहरुकै प्रेरणाले सुरेन्द्रले पनि सशस्त्रमै सेवा शुरु गर्ने सोच बनाए । हाल उनी यसमै छन् । ठूलो जिम्मेवारी लिँदै उनी अहिले सशस्त्र प्रहरी नायव निरिक्षक भएका छन् ।
सेवा शुरु गरेदेखि नै सुरेन्द्रले सधैं अग्रपंक्तीमा रहेर काम गरिरहेका छन् । ०७२ सालको विनाशकारी भूकम्पको बेला उनी काठमाडौंको गोंगबुमा भूकम्पले पुरिएको १२० घण्टापछि नुवाकोटका पेम्बा लामाको जिवितै उद्धारमा पनि खटिएका थिए । सेवाकै शिलशिलामा उनी देशका धेरै जिल्लाहरुमा पुगिसकेका छन् । कहिले उनी रुपन्देही पुगे त कहिले नवलपरासी । सिन्धुपाल्चोक, चितवन, बारा, पर्सा, रौतहट, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा हुँदै अहिले उनी इलाममा कार्यरत छन् ।

१७ र १८ असोजमा इलामको विपदमा उद्धारमा खटिदै डोटेल ।
आफूले काम गरिरहँदा सशस्त्र प्रहरीप्रति नागरिकले पनि राम्रो दृष्टिकोण राखेको उनी बताउँछन् । यसमा आफूले पनि नागरिकप्रति राम्रो व्यवहार देखाउनु पर्ने रहेछ भन्ने उनको अनुभव छ । ‘काम गर्दा तन–मन सबै काममै लगाएर गर्नुपर्छ, अनि मात्र सफल भइन्छ । अरुको उदाहरणीय पनि बनिदो रहेछ ।’ सुरेन्द्र भन्छन् । आफूले गरेको कामबाट पीडितहरुले राहत अनुभव गर्दा आफूलाई पनि आनन्द महसुस हुने उनी बताउँछन् ।
सबैजना वर्ष दिनमा आउने चाडपर्व मनाउन गाउँ जान्छन् , आफन्त र परिवारसँग रमाउँछन् । सुरक्षाकर्मीका लागि पनि त चार्ड नआउने कहाँ हो र ? तर यही बेला धेरै ठाउँमा सुरक्षाका लागि पनि बढी परिचालित हुनुपर्ने हुँदा दशैं होस् वा तिहार, सबै पर्वहरु कर्मथलोमै मनाइन्छ ।
घरपरिवारले पनि चार्डमा छोरो आए हुन्थ्यो त भन्छन् नि तर कामको बाध्यताले जान पाइँदैन । यस्तै गुनासो गर्छन् सुरेन्द्र । आफू कर्म क्षेत्रमै खटिएर नागरिकको सेवा गर्न पाउँदा त्यहीँ दशैंको खुशी मिल्ने उनी बताउँछन् । आफू एक मध्यम वर्गिय परिवारको मान्छे भएको बताउने उनी मण्डनदेउपुरमा बुबाआमा खेतीमै रमाइरहँदा आफू भने कामको शिलशिलामा टाढा पुग्नु परेको उनले बताए ।
हिजोआज दैनिक सयौंको संख्यामा नेपालीहरु रोजगारीका लागि विदेश गइरहेको देख्दा उनलाई खल्लो लाग्छ । देश निर्माणको जिम्मेवारी लिनुपर्ने युवाहरु यसरी बाहिरिनु देशको लागि ठूलो घाटा भएको जस्तो लाग्छ सुरेन्द्रलाई । हामी ठूला सपना देखेर बाहिर जान्छौं तर देशमै भएका सम्भावनाहरुलाई वास्ता गर्दैनौं । विदेशमा गर्ने दुःख स्वदेशमै गर्ने हो भने यहीँ सफल हुन सकिन्छ जस्तो लाग्छ उनलाई । आफूले सकुन्जेल राष्ट्र सेवामै लाग्ने सुरेन्द्र बताउँछन् । उनको कार्यशैलीले अहिले हजारौं युवाहरुलाई प्रेरणा मिलेको छ । – कालोटोपी डटकम











































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्