जेनजी आन्दोलनका क्रममा गत २५ भाद्रमा मकवानपुरको भीमफेदी कारागारबाट भागेका एक कैदीको पूर्वी नवलपरासीको गैंडाकोटमा हत्या भएको पुष्टि भएको छ । गैंडाकोट नगरपालिका १ इँटाभट्टा नजिकै ५ कार्तिक कालिका नगरपालिका– ४ पदमपुर स्थायी घर भएका २८ वर्षिय नारायण कुमालको स्थानीय युवाहरूले धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी मधु नेपालका अनुसार, प्रहरीले हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटले उनीहरूलाई पक्राउ गरेको हो । घटनाका एक प्रत्यक्षदर्शीका अनुसार, करिब १४÷१५ जनाको संख्यामा आएका युवाहरूको समूहले कुमाललाई घाँटी र हातमा धारिलो हतियार प्रहार गरेका थिए ।
मृतक कुमाल जेनजी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट फरार भएको जेलर सुवास पौडेलले जानकारी दिए । जर्बजस्ती करणीको कसुरमा उनलाई अदालतले १० वर्ष कैद र ३५ हजार जरिवाना हुने फैसला गरेको थियो ।
२०७४ साउन ३ मा पक्राउ परेका उनी २०८४ मा छुट्ने क्रममा रहेको जेलर पौडेलले बताए । कारागारबाट भागेका कुमाललाई पटकपटक कारागार आउन खबर गरे पनि उनी भागेर बसेका थिए । पौडेलका अनुसार कारागार प्रशासनले कुमालको परिवारलाई समेत फोन गरेर कारागार पठाउन आग्रह गरेको थियो । तर, परिवारले पठाइदिने बताए पनि पठाइदिएको थिएन ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्