बागमती प्रदेश सरकारले ६ स्थानीय तहमा न्यायिक सहजकर्ता नियुक्तिका लागि दर्खास्त आह्वान गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ५ जिल्लाका ६ वटा गाउँपालिकाका लागि करार सेवामा स्थानीय न्यायिक सहजकर्ता पदमा दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयले एक सूचना प्रकाशित गर्दै स्थानीय न्यायिक सहजकर्ता (नियुक्ति तथा परिचालन) कार्यविधि, २०८२ बमोजिम रिक्त पदहरू पूर्ति गर्न लागेको हो । उक्त पदका लागि मकवानपुर जिल्लाको कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिका, रामेछापको लिखु तामाकोसी गाउँपालिका, ललितपुरको कोन्ज्योसोम गाउँपालिका, दोलखाको तामाकोसी गाउँपालिका र रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा दरखास्त मागिएको छ ।

इच्छुक र योग्य नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । आवेदनका लागि न्यूनतम शैक्षिक योग्यता कानुनमा माध्यमिक शिक्षा वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । आवेदकले कुनै एक स्थानीय तहका लागि मात्र दरखास्त दिन पाउने र हाल कुनै अन्य गाउँपालिकामा कार्यरत न्यायिक सहजकर्ताले आवेदन दिन नपाउने स्पष्ट पारेको छ ।

पालिका प्रेस
थप जानकारी