बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आम नागरिकले प्रत्यक्ष महसुस गर्नेगरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । गरिबलाई गरिखाने बनाउने लक्ष्यका साथ प्रदेश सरकारले आयमुलक र सीपमुलक कामका लागि विपन्न नागरिकलाई बिना ब्याज ऋण दिने कार्यविधि बनाएर अघि बढेको बताएका हुन् ।

मनहरी गाउँपालिका–४ स्थित पशुपतिनाथ माध्यमिक विद्यालयको १४ मंसिरमा स्वर्ण महोत्सव समारोह समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले भने–‘मुख्यमन्त्री हुनबित्तिकै मैले गरिबमुखी, न्यायमुखी, गाउँमुखी, आयमुखी, विकासमुखी र जनमुखी काम गर्ने भनी मैले सपथ खाएको छु, सोहीअनुसार नै कामहरु गरिरहेको छु ।’ उनले प्रदेश सरकारमार्फत एक हजार परिवार विपन्नको घर बनाउन लागिएको बताउँदै गरिबलाई छाना, खाना र नाना भन्ने नाराका साथ २ लाख रुपैयाँ बिना ब्याज ऋण दिने तयारी गरिएकोसमेत बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामीमगर, ४ नम्बर वडाध्यक्ष प्रकाश थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । मंसिर ८ गतेबाट सुरु भएको विद्यालयको स्वर्ण महोत्सव सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विभिन्न खेल प्रतियोगिता तथा शैक्षिक कार्यक्रम गरिएको थियो । विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीलाई कार्यक्रमकैबीच पुरस्कृत गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी