मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ थानाबजारस्थित नेपाल बैंक पालुङ शाखामा ३ पुसबाट एटीएम सेवा सुचारु गरिएको छ । बैंकको हाताभित्र स्थापना गरिएको एटीएम ग्राहकहरूको मागलाई ध्यानमा राखी सञ्चालनमा ल्याइएको शाखा प्रबन्धक अनुराग थापाले जानकारी दिए ।

बैंकको एटिएम २४ सै घण्टा सञ्चालन हुने प्रबन्धक थापाले जानकारी दिए । एटीएम सेवाबाट थाहा नगरपालिका क्षेत्रका स्थानीयवासीका साथै यहाँ घुम्न आउने पर्यटकहरूलाई समेत सहज हुने अपेक्षा गरिएको छ । विशेष गरी मालपोत कार्यालयमा जग्गा कारोबार गर्ने सेवाग्राहीहरूका लागि नगद झिक्न सजिलो हुने बैंकले जनाएको छ ।

एटीएममार्फत एकपटकमा अधिकतम २० हजार रुपैयाँ र एक दिनमा ५० हजार रुपैयाँसम्म रकम झिक्न सकिने छ । यसअघि एटीएम सेवा नहुँदा सेवाग्राहीहरूले भोग्दै आएको असहजता अब अन्त्य हुने थापाले प्रतिक्रिया दिए । स्थानीय स्तरमै एटीएम सेवा उपलब्ध भएपछि बैंकिङ सेवा अझ प्रभावकारी र जनमैत्री बन्ने अपेक्षा गरिएको छ ।

पालिका प्रेस
थप जानकारी