मकवानपुरको थाहा नगरपालिकाले वार्षिक क्यालेण्डर अनुसार आयोजना गर्ने विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जनकल्याण माविले आठौं संस्करणमा पनि आफ्नो अब्बलता कायमै राखेको छ । संघीयता कार्यानवयनसँगै स्थानीय तहहरुले आयोजना गर्दै आएको यस प्रतियोगितामा १७ स्वर्ण, ११ रजत र ६ काश्यसहित जनकल्याणले उपाधि चुमेको हो ।

लगातार उत्कृष्ट प्रदर्शन गर्दै थाहा–३ को जनकल्याण माविले अहिलेसम्मै प्रतियोगितामा वर्चस्व कायम गरेको हो । प्रतियोगितामा स्वच्छन्द भैरव माध्यमिक विद्यालय थाहा–९ ले ७ स्वर्ण र २ कास्य पदकसहित ९ पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्योे भने बागेश्वरी माध्यमिक विद्यालय थाहा–११ ले ४ स्वर्ण, ९ रजत र ७ कास्य पदकसहित २० पदक प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाएको छ ।

उपाधिसँगै प्रथम हुने जनकल्याण माविले नगद रु २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने विद्यालयले नगद रु १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने विद्यालयले नगद रु १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी मेयरकप भलिबल प्रतियोगिता अन्तर्गत छात्रतर्फको जनकल्याण माध्यमिक विद्यालय र छात्रा तर्फ मत्स्यनारायण माध्यमिक विद्यालय उपाधि विजेता बनेका छन्। फाइनल खेलमा छात्रतर्फ जनकल्याणले बज्रबाराही माध्यमिक विद्यालयलाई पराजित गर्दै उपाधि हात पारेको हो भने छात्रा तर्फ मत्स्यनारायणले दुर्गादेवी आधारभूत विद्यालयलाई हराउँदै उपाधि चुमेको हो ।

मेयरकप भलिबल प्रतियोगितामा प्रथम तथा उपविजेता टोलीले नगद रु २० हजार तथा द्वितीय हुने टोलीले नगद रु १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । भलिबलतर्फ छात्र वर्गमा जनकल्याणका सुजल कार्की उत्कृष्ट खेलाडी घोषित हुँदा छात्रा वर्गमा दुर्गादेवी माविकी नन्दी गोले उत्कृष्ट खेलाडी बन्न सफल भइन्।

कबड्डी छात्रतर्फ बज्रबाराही मावि प्रथम हुँदा दोस्रो जनकल्याण मावि र तेस्रो इअन एकेडेमी बागेश्वरी मावि हुन सफल भए । कबड्डीमा छात्रातर्फ प्रथम जनकल्याण मावि हुँदा दोस्रो मत्स्यनारायण मावि, तेस्रो इन्द्रायणी र बागेश्वरी मावि हुन सफल भएको छ । कराते विधातर्फ स्वच्छन्द भैरव माविले ७ संवरण सहित प्रथम प्रथम हुन सफल रह्यो त्यसैगरी मार्चपासतर्फ प्रथम पालुङ भ्याली हार्ट, दोस्रो नाट्यश्वर मावि, तेस्रो दुर्गादेवी मावि भए ।

एथलेटिक्स छात्रा तर्फ ७ स्वर्ण सहित जनकल्याण मावि प्रथम हुँदा छात्र तर्फ पनि ६ स्वर्ण सहित जनकल्याण मावि प्रथम हुन सफल रह्यो । प्रतियोगितामा १७ विधामा कुल १ हजार ३ सय १८ जना विद्यार्थी खेलाडी सहभागी भएका थिए । थाहा नगरपालिकाभित्रका संस्थागत तथा सामुदायिक गरी १८ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको यो प्रतियोगिता थाहा नगरपालिका शिक्षा शाखाको आयोजना तथा जनकल्याण माध्यमिक विद्यालयको व्यवस्थापनमा तीन दिनसम्म सञ्चालन गरिएको थियो ।

तीन दिनसम्म चलेको प्रतियोगिताको समापन समारोह थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षता तथा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर बिष्टको प्रमुख आतिथ्यतामा भएको थियो। समापन कार्यक्रममा वक्ताहरूले विद्यालयस्तरबाट खेलकुद विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

पदक तालिका 

पालिका प्रेस
थप जानकारी