हेटौँडा अस्पतालमा किशोरी आमाको संख्या बढ्दो देखिएको छ। अस्पतालका अनुसार फागुन महिनामा मात्र २० वर्षमुनिका १४ जना किशोरीले सन्तान जन्माएका छन्। सो महिनामा कुल २ सय ३८ महिलाले प्रसूति सेवा लिँदा तीमध्ये १४ जना किशोरी रहेका हुन्।
अस्पतालको मातृशिशु शाखाका तथ्यांकअनुसार गत साउनदेखि फागुन मसान्तसम्मको ८ महिनाको अवधिमा १ सय ४७ जना २० वर्षमुनिका किशोरी आमा बनेका छन्। यस अवधिमा कुल २ हजार ७० महिलाले प्रसूति सेवा लिएकोमा १ सय ४७ जना किशोरीको संख्या रहेको छ।
मकवानपुरका मनहरी, भीमफेदी, बागमती र बकैया गाउँपालिका तथा हेटौँडा उपमहानगरपालिकाका केही वडाबाट समेत किशोरीहरु प्रसूति सेवा लिन अस्पताल आउने गरेका छन्।
स्वास्थ्यकर्मीका अनुसार कम उमेरमै आमा बन्दा आमा र शिशु दुवैको स्वास्थ्यमा जोखिम बढ्ने गर्छ। प्रजनन अंग पूर्ण विकसित नहुँदा प्रसूति जटिल हुन सक्ने, समयअघि शिशु जन्मने र संक्रमणको खतरा बढी रहने चिकित्सकहरुको भनाइ छ।
यस्तै, २० वर्ष नपुगी विवाह गरेका दम्पतीको विवाह दर्ता नहुने र त्यस्ता अवस्थामा जन्मिएका शिशुको जन्मदर्ता गर्न समस्या हुने भएकाले धेरैजसो अवस्थामा जन्मदर्ता ढिलो हुने गरेको छ। नेपालको कानुनले २० वर्षभन्दा कम उमेरमा विवाहलाई दण्डनीय अपराध माने पनि किशोरावस्थामै विवाह र सन्तान जन्माउने प्रवृत्ति भने अझै नियन्त्रणमा आउन सकेको छैन।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्