आगामी आर्थिक वर्ष २०८३/८४ का लागि धनकुटा नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रिया सुरु गरेको छ। नगरपालिकाले वडा, विषयगत शाखा तथा विभिन्न समितिबाट योजनाको प्रस्ताव माग गरेको हो।
नगरपालिकाका प्रशासन, योजना तथा अनुगमन अधिकृत सीताराम गौतमका अनुसार नगरका १० वटै वडालाई वैशाख २० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने योजना र बजेटसम्बन्धी सुझाव पेस गर्न निर्देशन दिइएको छ। यससँगै विषयगत शाखा र समितिहरूलाई पनि आफ्नो क्षेत्रगत प्राथमिकता, आवश्यक आयोजना र बजेटको खाका तयार पार्न भनिएको छ।
नगरपालिकाले सार्वजनिक गरेको कार्यतालिका अनुसार वैशाख मसान्तभित्र नीति तथा कार्यक्रम स्वीकृत गरिनेछ भने जेठ महिनाभर टोल भेला, वडासभा तथा विषयगत समितिहरूको बैठक सम्पन्न गरिनेछ। त्यसपछि असार पहिलो साताभित्र कार्यपालिका बैठक बस्ने र असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरिएको छ।
यसपटकको बजेट निर्माण प्रक्रियामा स्थानीय आवश्यकता र सुझावलाई प्राथमिकता दिइने गौतमले जनाए। पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, रोजगार सिर्जना र सुशासनका क्षेत्रमा केन्द्रित योजना समेट्ने तयारी भइरहेको उनको भनाइ छ।
चालु आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाले ९४ करोड ९८ लाख रुपैयाँको बजेट स्वीकृत गरेको थियो। तर हिउँदे अधिवेशनमार्फत संशोधन गर्दै उक्त बजेट घटाएर ८६ करोड ३८ लाख ८८ हजार रुपैयाँ कायम गरिएको थियो। चालु आर्थिक वर्षको बजेट कार्यान्वयनबाट प्राप्त अनुभवका आधारमा आगामी वर्षको योजना अझ यथार्थपरक र परिणाममुखी बनाउने गृहकार्य भइरहेको गौतमको भनाइ छ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्