मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जिल्लाभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन प्रशासनले सक्रिय पहल थालेको बताएका छन् । संघीय सरकार तथा गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले स्थानीय तहसँग समन्वय गरेर सार्वजनिक सम्पत्ति संरक्षण अभियान अघि बढाएको उनले जानकारी दिए ।
उनका अनुसार गृह मन्त्रालयबाट प्राप्त ७–८ बुँदे निर्देशन सबै स्थानीय तहमा पठाइसकिएको छ । नेपाल सरकारको नाममा लालपुर्जा कायम भएका तर व्यक्तिले कब्जा गरेका जग्गालाई प्राथमिकताका साथ खाली गराइने उनले स्पष्ट पारे ।
प्रजिअ अधिकारीले मनहरी गाउँपालिकास्थित करिब १०५ बिघा क्षेत्रफलको जग्गा, टिसीएनको स्वामित्वमा रहेको जग्गा तथा साविक रोप–वे आसपासका क्षेत्रको अतिक्रमण हटाउन सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको बताए । अतिक्रमित सार्वजनिक जग्गाको विवरण संकलन कार्य तीव्र बनाइएको र करिब एक साताभित्र सबै तथ्यांक प्राप्त हुने अपेक्षा गरिएको उनले बताए ।
उनले सार्वजनिक जग्गाको अभिलेख तथा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहकै भएको उल्लेख गर्दै स्थानीय तहबाट विवरण प्राप्त भएपछि आवश्यक सुरक्षा व्यवस्थापन प्रशासनले गर्ने बताए । सम्बन्धित निकायले सुरक्षा माग गरेमा सुरक्षाकर्मी परिचालन गरेर अतिक्रमण हटाउने कार्यमा सहयोग गरिने उनको भनाइ थियो ।
प्रजिअ अधिकारीले सरकारी जग्गा अतिक्रमण र सुकुम्बासी व्यवस्थापनलाई फरक ढंगले हेर्नुपर्ने आवश्यकता रहेको बताए । वास्तविक सुकुम्बासीको पहिचान गरी उचित व्यवस्थापन गर्ने तयारी प्रशासनले गरिरहेको उनले जानकारी दिए । हेटौँडा–११ लगायत जिल्लाका विभिन्न सुकुम्बासी बस्तीमा बसोबास गर्ने व्यक्तिहरुको अवस्था, नागरिकता, पेशा तथा अन्य विवरणबारे सूक्ष्म अध्ययन गरिने उनले बताए ।
उनले वास्तविक सुकुम्बासीलाई व्यवस्थित गर्नुपर्ने भए पनि गलत विवरण प्रस्तुत गरेर सार्वजनिक जग्गा कब्जा गर्ने व्यक्तिमाथि कानुनी कारबाही गरिने स्पष्ट पारे । स्थानीय तहले सुकुम्बासी बस्तीमा बसोबास गर्ने व्यक्तिहरुको यथार्थ विवरण अभिलेखीकरण गर्नुपर्नेमा उनले जोड दिए ।
प्रजिअ अधिकारीका अनुसार राक्सिराङ र कैलाश क्षेत्रका प्रजा तथा चेपाङ समुदायको पहिचान र अधिकार सुनिश्चित गर्नु प्रशासनको प्राथमिकतामा रहेको छ । ती क्षेत्रमा अझै धेरै नागरिक नागरिकताविहीन अवस्थामा रहेकाले उनीहरुलाई पहिचान दिलाउने कार्यलाई पहिलो प्राथमिकता दिइएको उनले बताए ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्