मकवानपुरको थाहा नगरपालिकामा मानवअधिकार सचेतना कार्यक्रम भएको छ । नेपाल मानवअधिकार संगठन मकवानपुरको आयोजना तथा बागमती प्रदेश सामाजिक विकास कार्यालयको सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल मानवअधिकार संगठन मकवानपुरकी अध्यक्ष शर्मिला श्रेष्ठले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएकी थिइन् । श्रेष्ठकै सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिका उपप्रमुख भरत गोपाली प्रमुखअतिथि रहेका थिए ।

प्रमुखअतिथि गोपालीले मानवअधिकारसँगै कर्तव्य र नैतिकतालाई पनि समान महत्व दिनुपर्ने बताए । उनले अधिकारका नाममा जिम्मेवारी बिर्सन नहुने उल्लेख गर्दै सकारात्मक सोच र असल कार्यमार्फत समाज परिवर्तन सम्भव हुने धारणा राखे । कार्यक्रममा मानव अधिकारकर्मी कुमारी वाइबाले मानव अधिकार, नागरिकअधिकार, अधिकारक आधारभूत पक्ष तथा मानवकर्तव्यबारे प्रस्तुतीकरण दिएकी थिइन् । अधिवक्ता पम्फा पुरीले मानवअधिकारसम्बन्धी कानुनी प्रक्रिया, मानवअधिकार हनन, पीडित–पीडकको परिभाषा, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, सार्वजनिक अपराध तथा कानुनी व्यवस्थाबारे जानकारी दिइन् । उनले पछिल्लो समय बालविवाह गरेका २३ देखि २८ वर्ष उमेर समूहका दम्पती सम्बन्ध विच्छेदका लागि बढी आउने गरेको उल्लेख गरिन् ।

थाहा नगर स्थित इलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक रुक्सा बज्राचार्यले साइबर अपराधसम्बन्धी प्रस्तुतीकरण दिँदै सामाजिक सञ्जालमार्फत् हुने अपराधका घटना बढ्दै गएको बताइन् । उनले अनलाइन स्क्याम, लक्की ड्र तथा डिजिटल दुव्र्यसनका कारण पुरुष बढी पीडित हुने गरेको जानकारी दिँदै साइबर अपराधबाट बच्ने उपाय र कानुनी प्रावधानबारे प्रकाश पारिन् । मकवानपुर रिकभरिङ सेन्टरका अशेष थापाले लागूऔषध दुव्र्यसनसम्बन्धी प्रस्तुतीकरण दिँदै लागूऔषध प्रयोगका लक्षण, दुव्र्यसनका असरबारे जानकारी दिएका थिए ।

पालिका प्रेस
थप जानकारी