मकवानपुर थाहा नगरपालिकामा भएको छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कुर्दन फुटबल एकेडेमी चन्द्रागिरिले चुमेको छ । ६ असारमा थाहा नगरपालिका वडा नम्बर ३ स्थित इन्द्रायणीचौरमा सम्पन्न फाइनल खेलमा चित्लाङ एफसीलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै कुर्दन फुटबल एकेडेमीले उपाधि जितेको हो ।

निर्धारित समयमा दुवै टोलीबाट एक–एक गोल भएपछि खेल बराबरीमा सकिएको थियो । चित्लाङ एफसीका लागि विश्व हायुले गोल गरे भने कुर्दनका तर्फबाट सुजित बुढाथोकीले बराबरी गोल फर्काएका थिए । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत् गरिएको थियो । उपाधिसँगै विजेता कुर्दन फुटबल एकेडेमीले नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता चित्लाङ एफसीले नगद १ लाख रुपैयाँ, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो ।

त्यसैगरी विधागततर्फ फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका कुर्दनका गोलरक्षक सन्तोष महत ‘म्यान अफ द म्याच’ घोषित भए । चित्लाङ एफसीका सन्तोष गोम्बा सर्वाधिक गोलकर्ता घोषित भए । कुर्दनका कमल श्रेष्ठ उत्कृष्ट डिफेन्डर बने भने चित्लाङ एफसीका अभिषेक खड्का उत्कृष्ट गोलरक्षक घोषित भए । चित्लाङ एफसीका शुभराज गोले प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए ।

उत्कृष्ट खेलाडीले १२ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे भने विधागत तर्फ उत्कृष्ट हुनेले जनही ६ हजार २ सय ५० रुपैयाँ नगद पुरस्कार प्राप्त गरेक थिए । प्रतियोगिताको पुरस्कार वितरण समारोह खेलकुद विकास समिति संयोजक टीकाराम स्याङ्तानको अध्यक्षता तथा थाहा नगरपालिका प्रमुख विष्णुबहादुर विष्टको प्रमुख आतिथ्यतामा भएको थियो ।

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, शिखर क्लबका अध्यक्ष विश्व अर्याललगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको अफिसियल मिडिया पार्टनर टिम टेलिभिजन, थाहापाटी डट कम, पालिका प्रेस, थाहा टाइम्स, बाइरोडन्युज, पालिकाडायरी, सतमार्ग अनलाइन र साझाकुरा दैनिक रहेका छन।

पालिका प्रेस
थप जानकारी