• आशिष अस्लामी

१. पृष्ठभूमि र परिचय

कुनै पनि मुलुकको शासन प्रणाली, प्रशासनिक दक्षता र सार्वजनिक नीति त्यस देशको भू-राजनीतिक, सामाजिक-सांस्कृतिक र मौलिक यथार्थमा आधारित हुनुपर्दछ । नेपालको आधुनिक प्रशासनिक इतिहासलाई हेर्दा पश्चिमा जगतबाट आयातित शासनका मोडलहरू, नवीन सार्वजनिक व्यवस्थापन र वैदेशिक सहायताका सर्तमा आधारित नीतिहरू पूर्ण रूपमा सफल हुन नसकेको तीतो यथार्थ हाम्रा सामु छ । यस्तो अवस्थामा वि.सं. २०३० को दशकमा नेपालकै माटोमा जन्मिएको ‘थाहा दर्शन’ सुशासनका लागि एउटा सशक्त र मौलिक विकल्पका रूपमा यस सामग्रीमा ब्याख्या गर्न खोजिएको छ ।

मकवानपुरको दामन, पालुङ र टिस्टुङ (हालको थाहा नगरपालिका) लाई केन्द्र बनाएर रूपचन्द्र विष्ट (रुदाने) ले सुरु गरेको यो दर्शन केवल सैद्धान्तिक बहस मात्र थिएन, बरु तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्था, सामन्ती जमिन्दारी प्रथा र प्रशासनिक दमनका विरुद्ध आम जनतालाई सचेत बनाउने एउटा जीवन्त नागरिक आन्दोलन थियो । ‘थाहा’ को शाब्दिक अर्थ जान्नु, बुझ्नु वा वास्तविकताको बोध गर्नु हो । शासनको सन्दर्भमा राज्यले के गर्दैछ, किन गर्दैछ र कसका लागि गर्दैछ भन्ने कुरा जबसम्म नागरिकले थाहा पाउँदैनन्, तबसम्म लोकतन्त्र र सुशासन कागजमा मात्र सीमित रहन्छ ।

२. थाहा दर्शनका प्रणेता: रूपचन्द्र विष्ट ‘रुदाने’

थाहा दर्शनका प्रतिपादक रूपचन्द्र विष्ट एक विलक्षण दार्शनिक र नागरिक केन्द्रित क्रान्तिकारी नेता थिए । वि.सं. १९९६ पुषमा मकवानपुरको पालुङमा एउटा सम्पन्न परिवारमा जन्मिएर पनि उनले गरिब जनताको चेतनास्तर उठाउन आफ्नो सम्पूर्ण पारिवारिक सुख र सम्पत्ति त्याग गरे । सरल जीवनशैली र विद्रोही स्वभावका रुदाने कछाड र भोटो लगाउँथे । उनले भाग्यमा होइन, कर्म र प्रश्न गर्ने क्षमतामा विश्वास गर्थे । उनले गाउँ-गाउँ पुगेर ढुङ्गा, भित्ता र कागजका टुक्राहरूमा ‘थाहा’ लेख्दै सचेतनाको अभियान चलाए । उनले नेता, मन्त्री वा ठूला भनिएका मानिसहरूलाई ‘डाँका’, ‘बदमास’ वा ‘भाते’ भन्न कहिल्यै हिचकिचाएनन् । उनले कहिल्यै कुनै राजनीतिक दल वा गुटको स्वार्थमा काम गरेनन् र सधैं सत्य र न्यायको पक्षमा आवाज उठाए ।

३. थाहा दर्शन र सुशासनका आठ स्तम्भहरू

संयुक्त राष्ट्र सङ्घ र विश्व बैंकले पहिचान गरेका सुशासनका आठ स्तम्भहरूलाई थाहा दर्शनले ऊ बेला नै आफ्नै मौलिक ढंगले व्याख्या गरेको थियो ।

  • सहभागिता: राज्यको हरेक नीति, निर्णय र बजेट प्रवाहमा धनी, गरिब, महिला वा पुरुष सबै नागरिकले ‘थाहा’ पाउनुपर्छ र सक्रिय सहभागिता जनाउनुपर्छ ।
  • कानुनी शासन: प्रशासन र राजनीतिमा व्याप्त नातावाद, कृपावाद र चाकरी प्रथाको अन्त्य गरी योग्यता प्रणाली र निष्पक्षतामा आधारित विधिको शासन बलियो बनाउनुपर्छ ।
  • पारदर्शिता: विकास निर्माणमा कति बजेट आयो, कुन सामानमा कति खर्च भयो र कसले कति श्रमदान गर्यो भन्ने विवरण सार्वजनिक भित्ता वा ढुङ्गामा लेखेर राख्ने रुदानेको अभ्यास नै आधुनिक ‘खुला सरकार’  को मर्म हो ।
  • उत्तरदायित्व: “छोराछोरी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी…” भन्ने रुदानेको भनाइले पदमा बस्नेहरूको नैतिक र सार्वजनिक जवाफदेहितालाई स्पष्ट पार्छ ।
  • सहमति उन्मुख: राजनीतिक दल र स्वार्थ समूहहरूको गुटगत स्वार्थ भन्दा माथि उठेर समाजलाई सत्य र बृहत्तर सामाजिक न्यायको साझा सहमतिमा ल्याउनुपर्नेमा यसले जोड दिएको देखिन्छ ।
  • समता र समावेशिता: सीमान्तकृत समुदायलाई शासनको केन्द्रमा ल्याउने र पूर्ण निष्पक्षताको अभ्यास गर्ने यस दर्शनको लक्ष्य हो ।
  • दक्षता र प्रभावकारिता: भाग्यवाद र अकर्मण्यताको विरोध गर्दै हरेक कार्यको प्रतिफल थाहा पाएर मात्र काम गर्नुपर्ने यसले सिकाउँछ ।
  • जवाफदेहिता: जनता मालिक र शासक सेवक हुन् भन्ने मान्यता राख्दै आफ्नो कर र ढुकुटीको हिसाब नखोज्ने नागरिकलाई सचेत गराएर शासक वर्गलाई जनताको कठघरामा उभिन बाध्य बनाउँछ ।

४. सैद्धान्तिक विश्लेषण: पश्चिमा सिद्धान्त र थाहा दर्शन

थाहा दर्शनलाई आधुनिक राजनीतिक र प्रशासनिक सिद्धान्तहरूसँग जोडेर हेर्न सकिन्छ ।

क) प्रिन्सिपल-एजेन्ट सिद्धान्त: यस सिद्धान्त अनुसार लोकतन्त्रमा जनता ‘प्रिन्सिपल’ (मालिक) हुन् र निर्वाचित प्रतिनिधि वा कर्मचारी ‘एजेन्ट’ (सेवक) हुन् । यी दुईबीच सधैं सूचनाको असमानता हुन्छ, जसको फाइदा उठाएर एजेन्टले भ्रष्टाचार गर्न सक्छन् । थाहा दर्शनले यही सूचनाको खाडलमा प्रहार गर्छ । रुदानेले स्पष्ट भनेका थिए, “जनता मालिक हुन्, शासक सेवक हुन्; सेवकले मालिकसँग कुरा लुकाएर काम गर्नु धोका हो” ।

ख) सार्वजनिक छनोट सिद्धान्त: यस सिद्धान्तले शासक र कर्मचारीहरू सधैं निस्वार्थी हुँदैनन्, उनीहरू आफ्नो व्यक्तिगत लाभ र शक्ति बढाउन केन्द्रित हुन्छन् भन्ने मान्दछ । थाहा दर्शनले नागरिक सचेतना, निष्पक्षता र निरन्तर खबरदारीलाई यस्तो भ्रष्ट प्रवृत्ति रोक्ने मुख्य हतियार मान्दछ । रुदानेले नेताहरूलाई ‘चुनावका डाँका’ र ‘व्यापारी’ को संज्ञा दिँदै उनीहरूले जनताको दुःख बेचेर महल खडा गर्ने संज्ञा दिन्थे ।

५. व्यावहारिक प्रयोग र सामाजिक परीक्षण (Social Audit)

रुदानेले वि.सं. २०३० को दशकमै मकवानपुरको पालुङमा जन कल्याण माध्यमिक विद्यालय निर्माण गर्दा बजेट र श्रमको ऐतिहासिक पारदर्शिता कायम गरेका थिए । उनले कुन सामग्रीमा कति खर्च भयो र कसले कति दिन श्रमदान गर्यो भन्ने विवरण सार्वजनिक भित्ता, ढुङ्गा र चुरोटका बट्टामा समेत लेखेर टाँस्न लगाएका थिए, जुन आजको आधुनिक सामाजिक परीक्षणको आधार हो । उनले श्रमको समानता र सामाजिक न्यायका लागि आफ्नै श्रीमतीलाई समेत अरू श्रमिक सरह ढुङ्गा बोक्न लगाएर निष्पक्षताको उदाहरण प्रस्तुत गरेका थिए ।

उनले वि.सं. २०३८ र २०४३ को राष्ट्रिय पञ्चायत निर्वाचनमा वितरण गरेका पर्चाहरू सामाजिक परीक्षणका सबैभन्दा ठूला लिखत हुन् । उनले चुनावमा भोट मागेर मन्त्री बन्ने लोभ गरेनन्, बरु “माथि दरबार र संसदमा शासकहरूले कसरी ढुकुटी बाँडेर खान्छन्, त्यसको फेहरिस्त ल्याएर गाउँमा थाहा दिनेछु” भन्ने नागरिक केन्द्रित बाचा गरेका थिए ।

६. संघीय शासन प्रणालीमा थाहा दर्शनको सान्दर्भिकता

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि भ्रष्टाचार, अपारदर्शिता र ढिलासुस्ती अझै व्याप्त छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको २०२५ को प्रतिवेदन अनुसार नेपाल भ्रष्टाचारको उच्च जोखिममा रहेको देशको सूचीमा छ । यस्तो अवस्थामा थाहा दर्शन झनै सान्दर्भिक भएको छ:

  • स्थानीय शासन: स्थानीय तहमा हुने नीतिगत भ्रष्टाचार र उपभोक्ता समितिमा हुने दलीय भागबण्डा रोक्न ‘नागरिक केन्द्रित र निष्पक्ष’ थाहा मोडल प्रभावकारी हुन सक्छ ।
  • भर्चुअल र वास्तविक पारदर्शिता: सरकारी कार्यालयले आफ्ना नीति र बजेटलाई जटिल कानुनी भाषामा मात्र नभई साधारण नागरिकले बुझ्ने सरल नेपाली र स्थानीय भाषामा प्रवाह गर्नुपर्छ, जसलाई रुदानेले ‘थाहा’  भनेका थिए ।
  • सूचनाको हक: नेपालको संविधानको धारा २७ मा रहेको सूचनाको हक र सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले रुदानेको थाहा आन्दोलनले नागरिक चेतना र सूचनाको अधिकारसम्बन्धी बहसलाई बल दिएको देखिन्छ ।

७. निष्कर्ष र सुझावहरू

थाहा दर्शन नेपालको आफ्नै सामाजिक, राजनीतिक र प्रशासनिक यथार्थबाट जन्मिएको एक अत्यन्त समृद्ध र मौलिक सुशासनको सिद्धान्त हो । यसले सार्वजनिक प्रशासनलाई पारदर्शी, जवाफदेही, निष्पक्ष र नागरिक केन्द्रित बनाउने व्यावहारिक अभियान चलाउँछ । नेपालमा सुशासन कायम गर्न आयातित मोडलहरू भन्दा पनि हाम्रै माटोको यो दर्शनलाई आत्मसात गर्न आवश्यक छ ।

यसका लागि निम्न नीतिगत कदमहरू चाल्न सकिन्छ:  पहिलो,  स्थानीय पाठ्यक्रममा ‘थाहा दर्शन’, नागरिक अधिकार र कर्तव्यका विषयहरू अनिवार्य समावेश गर्ने।  दोस्रो, सरकारी कामकाज र सूचना प्रवाहलाई सरल भाषामा सार्वजनिक गर्ने (Plain Language Transparency)। तेस्रो, विकास निर्माणका उपभोक्ता समितिहरूलाई दलीय राजनीतिबाट मुक्त राख्ने र अनिवार्य सामाजिक परीक्षण गराउने। चौथो, कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कनमा उनीहरूले जनतालाई सूचना प्रवाहमा कति सहयोग गरे भन्ने ‘थाहा सूचक’ समावेश गर्ने ।

अन्त्यमा, रुदानेले भने झैं, जबसम्म नागरिकले आफ्नो कर र ढुकुटीको हिसाब खोज्दैनन्, तबसम्म उनीहरू मालिक होइन ‘जनावर’ सरह हुन्छन् । त्यसैले भ्रष्टाचार मुक्त समाज निर्माणका लागि

सन्दर्भ सूची:

“थाहा पा ! भाते !” को मर्मलाई आत्मसात गर्दै नागरिक सचेतना र प्रश्न गर्ने संस्कृतिको विकास गर्नु नै आजको मुख्य आवश्यकता हो ।

अधिकारी, आर. सी. (२०१८)। नेपाली राजनीतिक चिन्तनमा रूपचन्द्र विष्टको थाहा दर्शन । पैरवी प्रकाशन।

अर्याल, एस. (२०२२)। नेपालमा सार्वजनिक नीति र स्थानीय शासनका चुनौतीहरू। सोसल साइन्स बहा।

बोभेन्स, एम. (२००७)। उत्तरदायित्वको विश्लेषण र मूल्याङ्कन: एक वैचारिक रूपरेखा। युरोपियन ल जर्नल, १३(४), ४४७–४६८।

क्षेत्री, पी. बी. (२०२०)। मौलिक दर्शन र सुशासन: थाहा आन्दोलनको एक प्रशासनिक अध्ययन। प्रशासन: सार्वजनिक प्रशासनको जर्नल, ४१ (२), ८५–१०२।

सुवेदी, एम. (२०२१)। नेपालमा सुशासन र सार्वजनिक नीति: एक समाजशास्त्रीय दृष्टिकोण। साझा प्रकाशन।

ट्रान्सपरेन्सी इन्टरनेसनल। (२०२५)। भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४। ट्रान्सपरेन्सी इन्टरनेसनल।

विश्व बैंक। (२०२४)। विकासशील राष्ट्रहरूका लागि सुशासन र भ्रष्टाचार विरोधी सूचकहरू। विश्व बैंक।

विष्ट, आर. (१९७८)। थाहा आन्दोलनका पर्चा र नागरिक-केन्द्रित विचारहरू। थाहा प्रतिष्ठान। (मूल कृति वि.सं. २०३५ मा प्रकाशित)

  • लेखक, त्रीभुवन विश्वविद्यालयमा स्नातकोक्तर तहमा सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन गरिरहेका छन् ।
पालिका प्रेस
थप जानकारी