एक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिएको छ । खरिद सम्झौता हुनु अगावै बैङ्क जमानत फुकुवा गरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले सप्तकोसी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीलाई कारबाहीका लागि सिफारिस गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत चौधरीले पेस गरेको लिखित स्पष्टीकरणको ब्यहोरा चित्त बुझ्दो नदेखिएको भन्दै कार्यालयले आयोगलाई विभिन्न आठ वटा बुँदासहित छानबिन गर्न पत्र पठाएको हो । नगरपालिकाले तालिम हल निर्माणका लागि नेपा कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्ट ग्रुपसँग गरेको सम्झौतामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा(५) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ५३ को उपनियम(८) को विपरीत कार्य भएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
खरिद अनुगमन कार्यालयले सप्तकोसी नगरपालिकाले बोलपत्रदाता नेपा कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्ट ग्रुपलाई कालो सूचीमा राख्ने गरेको सिफारिसलगायत अन्य कागजात, नेपा कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्ट ग्रुपलाई माग गरेको स्पष्टीकरण र पेस गरेको कागजात, नगरपालिकालाई पठाएको पत्र, प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई सोधिएको स्पष्टीकरण तथा पेस गरेको जवाफ र सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्णयमा रही छानबिन गर्न भनेको हो ।
पछिल्लो समय खरिद अनुगमनले ठेक्कापट्टामा हुने गरेको मिलेमतोमाथि कडा निगरानी र कारबाही प्रक्रियामा सक्रियता बढाउँदै लगेको छ । जसले सेटिङमा रमाउने कर्मचारीको कमाई खाने भाँडो त रित्तो हुन पुगेको छ नै, सेटिङमै ठेक्का हत्याउने निर्माण व्यवसायीको मुटुमासमेत ढ्याङ्रो ठोकिएको छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्