जिल्ला प्रशासन कार्यालय मकवानपुरले राष्ट्रिय परिचयपत्र (कार्ड) वितरणको तयारी थालेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा छपाई गरी पठाइएको ३५ हजार ८ सय ६१ राष्ट्रिय परिचयपत्र (कार्ड) मकवानपुर प्रशासनमा आइपुगेको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा फोटो सहित खिचाएका कार्डहरु मात्र आएको र प्राप्त कार्डलाई रुजु गरी वितरणको तयारी गरिने प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सूर्य सेढाईले बताए ।

मकवानपुरमा पहिलो चरणमा यसअघि २ हजार ७ सय २० वटा कार्ड आईपुगेको थियो । कार्ड वितरण प्रक्रियाका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले केहीदिनअघि आयोजना गरेको प्रशिक्षणमा मकवानपुर प्रशासनका तर्फबाट राष्ट्रिय परिचयपत्र शाखाका कम्प्युटर अपरेटर सगुन पुडासैनीलाई पठाएको थियो ।

पहिलो र दोश्रो चरण गरी मकवानपुरमा आइपुगेका ३८ हजार ५ सय ६१ वटा कार्डलाई सर्टीङ गरी प्रशासनले वितरण गर्ने तयारी थालेको प्रजिअ सेढाईले बताए । प्राप्त कार्डहरुको नाम अनुसार मोवाइलमा म्यासेज गर्ने र सोही आधारमा कार्ड प्राप्त गर्ने नागरिकले प्रशासनमा गएर स्वयम सहभागी भई दश औलाको बायोमेट्रिक लिएर मात्र प्राप्त गर्न सकिने प्रजिअ सेढाईले बताएका छन् ।

पालिका प्रेस
थप जानकारी