मनहरी गाउँपालिकाको कार्यपालिका बैठकले सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्त गर्न कार्यबिधि पारित गरेको छ । प्रधानाध्यापक नियुक्त तथा शिक्षक व्यवस्थापनसम्बन्धी कार्यविधि पारित गरेको हो । मनहरी गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापक सरुवा गर्ने निर्णय गरेपछि यसको चौतर्फी बिरोध भएको थियो । १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले सामूहिक राजीनामा दिने निर्णयगरेका थिए ।

१६ साउनमा बसेको कार्यपालिका बैठकले कार्यविधि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताए । गाउँकार्यपालिकाको बैठकले शिक्षक सरुवा तथा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि २०८० पारीत गरेको श्रेष्ठले बताए । भदौ लाग्नेबित्तिकै शिक्षक सरुवा तथा विद्यालयमा प्रधानाध्यापक नियुक्त गर्ने बाटा खुलेको छ । हाल बर्षेबिदाका कारण सामुदायिक विद्यालयहरु बन्द रहेका छन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने अभियान सफल बनाउन पहिलो चरणमा १८ वटा प्राथमिक विद्यालयका प्रधानाध्यापक सरुवा गर्ने तयारी भइरहँदा सामाजिक संजालमा ब्यापक रुपमा बिरोध भएको थियो ।

गाउँसभाको १३ औँ अधिवेशनबाट नीति तथा कार्यक्रममा समेटिएको विषयमा कार्यविधि तयार पारी आवश्यक कार्यान्वयनको प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए । सामुदायिक विद्यालयका शिक्षक सरुवा गर्ने र प्रधानाध्यापक छनोटका लागि आगामी भाद्रदेखि कार्यान्वयन गर्ने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । हाल विद्यालयले प्रथम त्रैमासिक परीक्षा सम्पन्न गरी वर्षेबिदा दिएको र आगामी भदौ १ गतेदेखि विद्यालय खुल्ने छ । सबै विद्यालयमा यो कार्यविधि लागू गरिने श्रेष्ठको भनाई छ ।

पालिका प्रेस
थप जानकारी