मकवानपुर इन्द्रसरोवर गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक समिक्षा कार्यक्रम भएको छ । पालिकाको आयोजनामा ७ भाद्रमा कार्यक्रम भएको हो । गाउँपालिकाले आर्थिक वर्ष ०७९/०८० मा ७९.२९ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । चालुतर्फ ८४.८६ प्रतिशत र पुँजींगततर्फ ७३.७२ वित्तिय प्रगती हासिल भएको प्रममुख प्रशासकीय अधिकृत प्रलाद कार्कीले जानकारी दिए ।

पालिकाको पाँचवटै वडाको खर्च उपशीर्षकमा ८८.०५ प्रतिशत वित्तिय प्रगती भएको छ । यस अन्तर्गत वडा नम्बर १ मा ८२.२३ प्रतिशत, वडा नम्बर २ मा ९५.७८ प्रतिशत, वडा नम्बर ३ मा ८०.१७ प्रतिशत, वडा नम्बर ४ मा ९६.२२ प्रतिशत र वडा नम्बर ५ मा ८५.८७ प्रतिशत वित्तिय प्रगती हासिल भएको प्रमुख प्रशासकीय अधिकृत कार्कीले जानकारी गराए । समिक्षा कार्यक्रमको अवसरमा चालु आर्थिक वर्ष २०८०/०८१ मा वित्तिय प्रगतीको लक्ष्य शतप्रतिशत पु¥याउने सबै वडा अध्यक्षहरुले प्रतिवद्धता जनाएका छन् ।

  

 गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको सभाध्यक्षमा भएको समिक्षा कार्यक्रममा गत आर्थिक वर्षमा गाउँपालिकाका विभिन्न शाखाहरुबाट सम्पादन गरिएका कार्यहरुका बारेमा सम्बन्धित शाखा प्रमुखहरुले प्रगति विवरण प्रस्तुतीकरण गरेका थिए । समिक्षाका क्रममा गाउँपालिकाले अवलम्बन गरेका असल अभ्यासका बारेमा सहभागी जनप्रतिनिधिहरुले चासो व्यक्त गरेका थिए । पालिकाले असल अभ्यासहरुमा साना टुक्रे खरिदलाई निरुत्साहित गर्दै विद्युत्तीय खरिद प्रणालीलाई प्रश्रय दिइएको, भुक्तानीका लागि चेक राइटिङलाई विस्थापित गर्दै प्रिन्टेड चेकका साथै इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (इएफटी) लागू गरिएको, वडाबाट सिफारिस प्राप्त गरेपछि आवश्यक कागजात र प्रक्रिया पुरा भएपछि तुरुन्तै भुक्तानी दिने गरिएको, लेखाका श्रेस्ताहरुलाई थप व्यवस्थित गरिएको, खरिद कार्यमा सहभागितामूलक प्रक्रिया अवलम्बन गरिएको जस्ता कार्यहरु आर्थिक प्रशासन शाखा प्रमुख सन्तोष बन्जाराको प्रस्तुतीकरणमा समेटिएको थियो ।

त्यसैगरी योजनातर्फ गुणस्तरीयता कायम गर्न पूर्वाधार विकास समितिलाई समेत सक्रिय तुल्याई हरेक चरणमा अनुगमन गरिएको, स्लाब ढलानको थिकनेस मापन गर्न कोरकटिङ मेशिन खरिद गरी सबै योजनाहरुका स्लाब कटिङ गरि थिकनेस मापन गरिएको, निर्माण सामग्रीहरुको गुणस्तर मापन गर्न निर्माणका हरेक चरणमा आधिकारिक प्रयोगशालाबाट ल्याब टेस्ट गर्ने व्यवस्था मिलाइएकोलगायतका राम्रा अभ्यासहरु प्राविधिक शाखा प्रमुख बिमल मुक्तानले समिक्षा कार्यक्रममा जानकारी गराएका थिए ।

कृषकहरुका लागि प्रदान गरिएको कृषि ऋणमा ७० प्रतिशत व्याज अनुदानको अनुगमन गरी ३ जना कृषकहरु निष्क्रिय रहेका कारण प्रदान गरिएको व्याज अनुदानमा कट्टा गरिएको आर्थिक विकास समितिका संयोजक प्रताप भोम्जनले बताए । पशुचौपायमा फैलिएको लम्पीस्किन रोग नियन्त्रणका लागि पालिकाले निःशुल्क खोपको व्यवस्था मिलाई थप क्षति हुनबाट बचाएको लगायतका विषयमा भएको सेवा प्रवाह पनि कार्यक्रममा समिक्षा भएको थियो ।

त्यसैगरी कक्षा ८ र एसइई परीक्षामा नतिजा सुधार्न गाउँपालिकाले अंग्रेजी, गणित र विज्ञान विषयको सिकाई उपलब्धि परीक्षा सञ्चालन गरेको, बालविकास केन्द्रहरुलाई मण्टेश्वरी शिक्षण विधिबाट शिक्षण गर्न सबै बालविकास सहजकर्ताहरुलाई मण्टेश्वरी शिक्षण विधि तालिम सञ्चालन गरिएको र सो बाट अनुगमनका क्रममा कक्षाकोठामा उल्लेखनीय सुधार आएको शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तले जानकारी गराए । ज्येष्ठ नागरिक हेरचाहका लागि निःशुल्क न्यानो कपडा वितरण गर्नुका साथै निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामाले समिक्षामा जानकारी गराइन् । शारीरिक रुपमा अशक्त नागरिकहरुका लागि घरघरमै पुगेर अपांगता परिचय पत्र वितरण गर्नुका साथै प्रत्येक तीन तीन महिनामा हरेक वडामा सामाजिक सुरक्षा भत्ता वितरण शिविर समेत सञ्चालन गरेका जस्ता जनमैत्री काम पालिकाबाट भएको उपाध्यक्ष लामाले जानकारी गराइन् ।

इन्द्ररोवर गाउँपालिकामा पहिलो पटक ग्रामीण आँखा केन्द्र स्थापना गरी स्थानीय स्तरमै आँखा उपचार सेवा सुचारु गरिएको, वडा नम्बर १ मा रहेको सानुमाखु सामुदायिक स्वास्थ्य इकाइ निर्माण सम्पन्न गरी स्वास्थ्य सेवा सुचारु गरिएको, वडा नम्बर ४ मा स्तुपा अस्पतालको संलग्नतामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी स्त्रीरोग, भिडियो एक्सरे, प्याथोलोजी सेवा, जनरल मेडिसिन सेवा प्रदान गरी स्थानीय सरकार जनताको स्वास्थ्य सेवामा प्रतिवद्ध भई काम भैरहेको गाउँपालिका अध्यक्ष देव कृष्ण पुडासैनीले समिक्षा कार्यक्रममा प्रगती सुनाए ।

अघिल्लो आर्थिक वर्षको समिक्षा गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्कीले आर्थिक वर्ष २०८०।०८१ मा सबै योजनाहरु वैशाख मसान्तसम्म सम्पन्न गरिसक्न सम्बन्धित शाखा प्रमुखहरुलाई निर्देशन दिएका छन् । अघिल्लो आर्थिक वर्षको ढिलाईबाट पाठ सिक्दै संघ र प्रदेश सरकारबाट सञ्चालन हुने समपूरक र विशेष अनुदानका योजनाहरु समयमै सम्पन्न गर्न ई–बिडिङ प्रक्रियाका लागि सबै प्रक्रिया पुरा गर्न २०८० भाद्र १५ सम्मको समयसीमा तोकी सम्बन्धित प्राविधिक शाखा प्रमुख र प्राविधिक कर्मचारीहरु लगायत वडामा समेत पत्राचार भइसकेको प्रशासकीय अधिकृत कार्कीले जानकारी दिए । सुशासन कायम गर्न गाउँपालिकाले लामो समयदेखि हुन नसकेको सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरी जवाफदेहिता स्थापित गर्ने अभियान संचालन गरिएको कार्कीले बताए ।

सूचनाको हकलाई प्रत्याभूत गर्न माग गरेका सूचना नियमानुसार उपलब्ध गराइएको बताउँदै राष्ट्रिय सूचना आयोगले पालिकामा गत आर्थिक वर्षमा सूचनाको हक कार्यान्वयनका सम्बन्धमा स्थलगत अवलोकन गरेको जानकारी प्रशासकीय अधिकृत कार्कीले गराए । सूचनाको हकको कार्यान्वयनमा गाउँपालिकाका तत्पर भएको र आयोगबाट औंल्याइएको कुराहरु समेत कार्यक्रममा जानकारी गराइएको थियो । अघिल्लो आर्थिक वर्षमा सुशासनको प्रत्याभूत गर्न राष्ट्रिय सतर्कता केन्द्रले गाउँपालिकामा नै आई जनप्रतिनिधि र कर्मचारीहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको कार्कीले जानकारी गराए । रोजगारी सिर्जनाका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम र गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रमलाई एकीकृत गरी प्रभावकारीरुपमा कार्यक्रम संचालन गरी ८३ जनाले रोजगारी पाई विकास निर्माणका काम सम्पन्न गरिएको समिक्षामा जानकारी गराइएको थियो ।

त्यसैगरी गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत ५ वटै वडामा अचार बनाउने, ढाका कपडा बुनाई, मौरीपालन तालिम र आधुनिक घार वितरण, एडभान्स ब्युटिसियन तालिम, ड्राइभिङ तालिम लगायतका तालिम सञ्चालन गरी उक्त तालिमका क्रममा प्रयोग भएका सबै सामाग्रीहरु तालिममा सहभागीहरुलाई नै हस्तान्तरण गरी स्थानीय स्तरमै स्वरोजगार भई आय आर्जन गर्ने वातावरण मिलाएको गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामाले बताइन् । स्थानीय तहको न्यायिक अधिकार अन्तर्गत अघिल्लो आर्थिक वर्षमा ४१ वटा विवादहरु दर्ता भएकामा ३० वटा विवादहरु मेलमिलापका माध्यमबाट निरुपण गरिएका छन् भने बाँकी मेलमिलापका प्रक्रियामा रहेका छन् ।

कार्यक्रममा संघीय सरकारले प्रदान गर्ने विभिन्न अनुदानका रकमहरु भुक्तानीको समयमा रोकिदा र आन्तरिक आम्दानी कमजोर हुँदा स्रोत अभाव भई केही योजनाहरु सञ्चालन गर्न नसकिएकोले सोचे अनुरुपका लक्ष्य हासिल गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष पुडासैनीले बताए । समृद्ध इन्द्रसरोवर निर्माण गर्न आगामी दिनहरुमा सबैलाई मिलाएर सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै विकासको मामलामा कसैसँग सम्झौता नगर्ने अध्यक्ष पुडासैनीले बताए । गाउँपालिकाका अध्यक्ष देव कृष्ण पुडासैनीको अध्यक्षतामा भएकोसमिक्षा कार्यक्रममा उपाध्यक्ष उमाकुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्की, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, शाखा प्रमुखहरु, वडा सचिवहरु, स्वास्थ्य चौकीका इन्चार्जहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रशासन तथा योजना शाखा प्रमुख दिपक चाँपागाईले गरेका थिए ।

पालिका प्रेस
थप जानकारी