राष्ट्रिय योजना आयोगले समपुरक र विशेष अनुदानबाट सञ्चालन भएका योजनाहरुको प्रभावकारीता अध्ययन गर्ने भएको छ । यस अन्तर्गत मकवानपुर थाहा नगरपालिकाको पनि एउटा समपुरक आयोजना अध्ययनका लागि छनोट भएको छ ।

थाहा नगरपालिका वडा नम्बर ६ मा आर्थिक वर्ष २०७६/०७७ मा निर्माण शुरु भएको सरस्वती बजार बगर बुढिचौर सडकको प्रभावकारिताको अध्ययन गरिने भएको हो । यो दुई वर्षमा सम्पन्न हुनेगरी निर्माण थालिएको योजना हो । यस सडकको लागत ३ करोड ९९ लाख ९९ हजार ६ सय ८४ रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

थाहा नगरपालिकासहित मकवानपुरका १० मध्ये ७ स्थानीय तहको ९ वटा योजनाको योजना आयोगले प्रभावकारीता अध्ययन गर्ने जनाएको छ । राष्ट्रिय योजना आयोगले कैलाश गाउँपालिकामा सञ्चालन भएको विशेष अनुदानतर्फको महिलाको पाठेघर तथा आङ खस्ने रोग सम्बन्धी शिविर सञ्चालन, विशेष अनुदानकै राक्सिराङ गाउँपालिकाको चेपाङ खानेपानी कार्यक्रम, मकवानपुरगढी गाउँपालिकाको विशेष अनुदानबाट सञ्चालन भएको १५ शैया अस्पताल निर्माण र समपुरक अनुदानबाट निर्माण भएको कोल्डस्टोर निर्माणको प्रभावकारिता अध्ययन गर्ने जनाएको छ ।

त्यस्तै, विशेष अनुदानबाटै सञ्चालन भएको मनहरी गाउँपालिकाको नवीनतम प्रविधि प्रयोगद्वारा खाद्य उत्पादन र बजारिकरणमा वृद्धि गर्दै ग्रामिण क्षेत्रमा पोषण तथा खाद्य सुरक्षाको सुनिश्चितता गर्ने कार्यक्रम, भिमफेदी गाउँपालिकामा विशेष अनुदानतर्फकै उपल्लो सुपिङ वृहत्त खानेपानी र समपुरक अनुदानबाट निर्माण भएको भिमफेदी गाउँपालिका भवन र इन्द्रसरोवर गाउँपालिकामा समपुरक अनुबाट निर्माण भएको खाण्डु सुकौरा नयाँगाउँ कालपानी रोडको प्रभावकारीता अध्ययन हुने भएको हो ।

प्रभावकारिता अध्ययन अन्तर्गत मकवानपुरका विशेष अनुदानतर्फका ५ वटा र समपुरक अनुदानबाट सञ्चालन भएका ४ योजना परेका छन् । राष्ट्रिय योजना आयोगले समपुरक २ सय ४७ र विशेष अनुदानबाट संचालन भएका ३ सय ३५ गरी ५ सय ८२ आयोजनाको प्रभावकारिता अध्ययन गर्ने भएको हो । प्रभावकारीता अध्ययन अन्तर्गत स्थानीय तहमा छलफल तथा अन्तरक्रिया, स्थलगत अवलोकन समेत गरिने आयोगले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी