हेटौडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयले आफ्नो साइनबोर्डमा तामाङ र नेवारी भाषा पनि प्रयोग गरेको छ । बागमती प्रदेश सरकारले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउन बनाएको विधेयक प्रदेशसभाबाट पारित भएसँगै वडा कार्यालयले प्रयोगमा ल्याएको हो ।

बडा कार्यालयले २३ असोजमा कार्यालयको बोर्डमा तामाङ र नेवारी भाषाको प्रयोग गरेको छ । बागमती प्रदेश सभामा २२ असोजमा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएसँगै तामाङ र नेवारी भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रचलनमा ल्याउन लागेको वडाध्यक्ष विष्णुगोपाल महर्जनले बताए ।

प्रदेश प्रमुखले प्रमाणित गर्नु भएपछि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको मितिले १८० दिनपछि विधेयक लागू हुने भए तापनि आफुले बोर्डमा समावेश गराएको महर्जनले बताए । जनताको मागको आधारमा अन्य काममा पनि प्रयोगमा ल्याउने उनले बताए । महर्जन भाषा र संस्कृतिको क्षेत्रमा पनि क्रियाशील व्यक्ति हुन् । उनी नेवा साँस्कृतिक पुचःका निवर्तमान अध्यक्ष नेवा देय दबू बागमती प्रदेश समितिको अध्यक्ष समेत छन् । जातीय पहिचान र भाषाको संरक्षणमा जोड दिनुपर्ने बताउँदै आएका महर्जनको प्रयासलाई भाषा र संस्कृतिको क्षेत्रमा काम गर्ने व्यक्तिहरुले प्रशंसा समेत गरेका छन् ।

पालिका प्रेस
थप जानकारी