मकवानपुर थाहा नगरपालिकाले दशैलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तिव्रता दिएको छ । उपभोक्ता हित संरक्षण समिति थाहाले चाडपर्व लक्षित गरी विशेष बजार अनुगमन शुरु गरेको हो । समितिले औषधि, खाद्यान्न, इन्धन, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको छ । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले चाडवाडमा अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको अनुगमन समितिका संयोजक तथा उपप्रमुख भरत गोपालीले बताए।

समितिले २५ असोजमा थाहानगरको बज्रबाराहीको मुख्य बजार अनुगमन गरेको उपभोक्ता हित संरक्षण समिति सदस्य उमेश श्रेष्ठले बताए । बज्रवाराहिको सरस्वती बजारका पसलहरु अनुगमन गर्ने क्रममा मापदण्ड बिपरित संचालनमा रहेको एक औषधि पसल बन्द गरिएको छ । मापदण्ड बिपरित बिना दर्ता र बिना अनुमतीमा संचालित औसधि पसल तत्कालको लागि बन्द गरिएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए ।

 

बजार अनुगमन व्यवसायीहरूलाई आतंक फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले शुरु नभएको पनि प्रमुख गिरीले स्पष्ट पारे। बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण नगरी उपोभोक्ता ठग्ने,नगरमा व्यवसाय दर्ता तथा नविकरण नगर्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा चेतावनी दियको उनले बताए । नगरले चार्डपर्वको सन्दर्भमा अनुगमनलाई प्रभावकारी बनाउन पहिलो चरणमा दसैं र त्यपछि क्रमशः सबै नगरका बजार निरीक्षण गरिने प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीको भनाइ छ ।

अनुगमनका क्रममा मूल्य सुची नराखेको तथा म्याद गुज्रिएको सामान, बरफ, आइसक्रीम, औषधी फेला परेका व्यावसायीहरुलाई चेतावनी सहित छाडिएको थियो । अनुगमनमा उपभोक्ता हित संरक्षण समिती संयोजक भरत गोपाली, नगर अनुगमन समिति संयोजक कृष्ण गिरी, राष्ट्रिय उपभोक्ता मंचका थाहानगर अध्यक्ष प्रमोद कृष्ण जोशी, थाहा नगर उद्योग वाणिज्य संघका सदस्य यादव जंग रायमाझी, नगर प्रहरीका प्रतिनिधित्व गर्दै नगर प्रहरी हवल्दार मनोज केसी, प्रहरी जवान रमेश थिङ, संचारकर्मी शम्भु अधिकारीलगायतको सहभागिता रहेको थियो।

पालिका प्रेस
थप जानकारी