कुलेखानी जलासय । फोटो सौजन्यः इन्द्रसरोवर युवाक्लब

कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरमा गत वर्षको तुलनामा यो वर्ष कम पानी संकलन भएको छ । नेपालबाट वर्षाको मौसम बाहिरिएको र पानी पर्ने क्रम घट्दा जलाशयमा गत वर्षभन्दा कम पानी संकलन भएको हो । गत वर्षको तुलनामा यो वर्ष जलाशयमा यही अवधिमा पानीको सतह घटेको हो । नेपालको जलाशययुक्त यस आयोजनालाई जलविद्युतको महत्वपूर्ण ब्याकअपका रुपमा समेत मानिन्छ । सोमबार सम्मको जलाशयमा समुद्री सतहबाट एक हजार ५२१ मिटर पानी पुगेको छ ।

एक वर्षअघि असोज २२ गते दिउँसो आयोजनाको जलाशयको सतह समुद्री सतहबाट एक हजार ५२३.१४ मिटर मापन गरिएको कुलेखानी जलविद्युत् आयोजनाले जनाएको छ । गत वर्ष असोज ३१ गते जलाशयमा समुद्री सतहबाट एक हजार ५२८.८४ मिटर मापन गरिएको थियो । जलाशयमा इन्द्रसरोवर गाउँपालिकासँगै थाहा नगरपालिका क्षेत्रमा रहेका खोलाहरुबाट आउने पानी संकलन हुँदै आएको छ । त्यस क्षेत्रमा विगतका वर्षको अनुपातमा कम वर्षा भएका कारण पनि आयोजनाको जलाशयमा पानी संकलन कम भएको हो । कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले गत वर्षको तुलनामा यो वर्ष आयोजनाको जलाधार क्षेत्रमा कम पानी परेका कारण पानी संकलनको दरसमेत कम भएको जानकारी दिए । उनले जलाशयको पानी प्रयोग गरी वर्षाको समयमा विद्युत् उत्पादन भएकाले पानी कम संकलन भएको बताए ।

‘नेपाल विद्युत प्राधिकरणले अहिले भारतमा विद्युत् बिक्री गरिरहेको छ, त्यसमा कुलेखानीका तीनवटै आयोजनाबाट उत्पादित विद्युतसमेत पर्छ,’ उनले भने, ‘महँगो मूल्य पाउँदा विद्युत् बिक्री गर्ने भएकाले कुलेखानी आयोजना सञ्चालन हुँदा जलाशयको पानी खपत हुन्छ ।’ उनका अनुसार पछिल्ला दुई दिन आयोजनाबाट कम परिणाममा विद्युत् उत्पादन भएको छ । पछिल्लो दुईदिन ३० देखि ४० मेगा÷आवर विद्युत् उत्पादन भएको छ । उनले विद्युत् अधिक माग भएको समय तथा भोल्टेज कम र बढी हुँदा विद्युत् वितरण प्रणालीलाई व्यवस्थित गर्नसमेत जलाशयको पानी उपयोग गरी कुलेखानी जलविद्युत् आयोजना सञ्चालन गर्ने गरिएको बताए ।

जलाशयको सतह समुद्री सतहबाट एक हजार ५३० मिटर पुग्दा जलाशय भरिन्छ । गत वर्ष कात्तिकको मध्यमा पुग्दा जलाशयको सतह समुद्री सतहबाट एक हजार ५२८.८४ मिटर पुगेको थियो । जलाशयको पानीको सतह बढेर जलाशय भरिएर निस्कने पानी कुलेखानी खोला हुँदै बागमती नदीमा मिसिने गरेको छ । कुलेखानी जलविद्युत् आयोजनाको पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रो जलविद्युत् केन्द्रको १४ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ ।

पालिका प्रेस
थप जानकारी