अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकताका साथ निशुल्क स्वास्थ्य बीमा गराउने राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले घोषणा गरेका छन् । विश्व अपाङ्गता दिवसको अवसरमा आइतबार राक्सिराङ गाउँपालिकामा गरिएको संवाद कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष मल्लले अपाङता भएको व्यक्तिहरुलाई पहिलो प्राथमिकता साथ निःशुल्क स्वास्थ्य बीमा सहित आयआर्जनको लागि विभिन्न प्रकारको तालिम गराई आत्मानिर्भर बनाउने घोषणा गरेका हुन् ।

आपाङ्गता भएका व्यक्तिलाई संरक्षण तथा सुरक्षा दिनु पालिकाको दायित्व रहेकोले अपाङग कस्तो प्रकारको छ, उसको आवश्यकता अनुसार पालिकाले आयआर्जन गरि जीवन निर्वाहको लागि सहयोग गरिने उनको भनाइ छ । सहभागीहरुले सीपमुलक तालिमको आवश्यकता, स्वास्थ्य तथा दैनिक जीवन निर्वाहको पाटोमा सहयोग र पालिकाको नीति निर्माण गर्ने बेला सक्रिय सहभागी गराउन जोड दिएको छ ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको सम्वाद कार्यक्रममा प्रमुख प्रसशाकीय अधिकृत देवचन्द्र गर्तौला, ठाडेचुरे आधारभूत अस्पतालका मेडिकल अधिकृत डा. गजल पन्त, सामाजिक विकास शाखा प्रमुख गोविन्द अधिकारी, ५ नम्बर वडा अध्यक्ष हरि बहादुर प्रजा, ९ नम्बर वडा अध्यक्ष रामकुमार बाल्पा थिङ, ३ नम्बर वडा अध्यक्ष उत्तम वाइवा लगायतको आतिथ्यता रहेको थियो।

राक्सिराङ गाउँपालिकाको आयोजनामा भएको संवाद कार्यक्रमलाई राष्ट्रिय जनवकालत मन्च (नाफान)ले सहजीकरण गरिएको थियो।

यसैबीच राक्सिराङ गाउँपालिका स्तरिय अपाङ्ग समन्वय समिति गठन गरिएको छ। गाउँ कार्यपालिका सदस्य चन्द्रमान प्रजाको संयोजत्वमा ११ सदस्यीय अपाङगता समन्वय समिति गठन गरिएको छ ।
समितिको सदस्यहरुमा मंगलबहादुर घलान, संचलाल वाइबा, होम बहादुर पाख्रिन, जितन प्रजा, सुरेश घलान, शंखलाल चेपाङ, शरद स्याङ्तान, फुलमाया स्याङतान, श्रीकृष्ण प्रजा र सदस्य सचिवमा गाउँपालिकाको महिला तथा बालबालिका शाखाको प्रमुख गोमा पन्थी लगायत रहेको छ।अब वडा स्तरको अपाङता समिति गठन र संयोजक तोक्ने कार्यक्रमहरु रहेको संयोजक चन्द्रमान प्रजाले बताए ।

पालिका प्रेस
थप जानकारी