मकवानपुरलाई संघीय राजधानी काठमाण्डौं जोड्ने पुरानो बाटैमा पर्ने ठाउँ हो, चित्लाङ । यो मकवानपुर जिल्ला र काठमाण्डौ जिल्लासंग जोडिएको क्षेत्र पनि हो । अझ पालिकाको कुरा गर्ने हो भने त मकवानपुरको थाहा नगरपालिका र काठमाण्डौंको चन्द्रगिरी नगरपालिकाको भौगोलिक सम्बन्ध गाँसिएको क्षेत्र हो । त्रिभुवन राजपथ खुल्नु अघि भीमफेदी–कुलेखानी–चित्लाङ–थानकोट मार्गबाट गाडी बोकेरै काठमाण्डौं पु¥याइन्थ्यो । तसर्थ, चित्लाङ काठमाडौं उपत्यकाको प्रवेशद्वार पनि हो । नेपालका धेरै शासन र शासकहरूको साक्षी पनि हो, चित्लाङ ।
२३ सय वर्ष पुरानो यस गाउँमा लिच्छिवीकालीन वास्तुकला र सम्पदा रहेका छन् । लिच्छवीकालदेखि नै काठमाडौंबाट तराईतर्फ लाग्ने मानिसहरु चन्द्रागिरि डाँडो पार भएर चित्लाङ हुँदै जाने गर्थे । मल्लकालीन राजा र राणाहरू पनि तराई आउ–जाउ गर्दा चित्लाङकै बाटोबाट ओहोर–दोहोर गर्थे । आउजाउ गर्दा रात परेपछि उनीहरू चित्लाङमा नै रात बिताउँथे । प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणमा जाँदा यही बाटो भएर गएको इतिहासकारहरु बताउँछन् । राणा प्रधानमन्त्री चन्द्रशमशेरले शिकार खेल्न जाँदा निर्माण गरेको पाहुना घर र दरबारहरूको चित्लाङमा अझै भग्नावशेष छन् । भारतका सम्राट अशोकले यही ठाउँबाट काठमाडौं जाने–आउने क्रममा चित्लाङमा निर्माण गरेको चैत्य ऐतिहासिक साक्षी हो । यि सबै कुराले चित्लाङ हुँदै काठमाण्डौं प्रवेश गर्ने बाटो कति पुरानो हो भनेर सबैलाई प्रष्ट पार्दछ ।
वि.सं. २०१३ साल अघि राणहरुका लागि गाडी बोकेर काठमाण्डौ पु¥याउने (चित्लाङ हुँदै थानकोट जाने) बाटोको वि.सं. २०१८/०१९ सालतिर सडक ट्याक खोल्न चित्लाङबासीमा उत्साह पलायो । त्यतिबेला बाबुकाजी मान्धरलगायका व्यक्तिहरुको नेतृत्वमा गाडी बोक्ने बाटोमा गाडी गुडाउने सपना लिएर श्रमदानबाटै सडक ट्याक खुलाउन लागि परे । जनताको सपनामा पञ्चयातकालिन नेतृत्वको धेरथोर मद्दतले सडकको छेउ पनि बनेन । बरु, स्थानीयहरुको श्रमदानले जित्यो । भिमफेदीदेखि थानकोटसम्मको सडक ट्याक वि.सं. २०२४ सालमा जोडियो । सडक ट्याकमा पहिलो पल्ट वि.सं. २०२४ सालमै गाडी गुडे । तत्कालिन सांसद रामलाल श्रेष्ठले चित्लाङ–थानकोट सडक हुँदै वि.सं. २०२४ सालमै आफ्नो जीप वसन्तपुर पु¥याएका थिए । त्यही जीपमा यात्रा गर्ने चित्लाङका बुद्धरत्न मान्धर अझै साक्षी छन् । त्रिभुवन राजपथको बैकल्पिक बाटोको रुपमा सञ्चालनमा रहेको भिमफेदी–कुलेखानी–चिच्लाङ–थानकोट सडक वि.सं. २०२७ सालसम्म जेनतेन सञ्चालन भएपनि बाढी पहिरोका कारण वि.सं. २०२८ सालबाट पूर्णतः गोरेटो बाटोमा सिमीत भएको स्थानीय ज्येष्ठ नागरिकहरु बताउँछन् । त्यसोतः वि.सं. २०४२ सालमा चित्लाङबाटसीमा पुनः सडक सुचारु गर्ने हुटहुटी चल्यो । नागरिकले हाते औजारको भरमा थालेको सडक निर्माणले ट्याकको रुप लिन निकै कठीन भयो । पञ्चयात कालपछि वि.सं. २०४९ सालमा पहिलो पटक चित्लाङ–थानकोट सडकलाई ‘गणेशमान सिंह मार्ग’ नामाकरणसहित बजेट विनियोजन गरिएकोे थियो । काठमाण्डौं पट्टि पर्ने थानकोट खण्डको काठमाण्डौं जिल्ला विकास समिति र मकवानपुरतर्फको चित्लाङ सडक खण्ड मकवानपुर जिल्ला विकास समितिले सडक बनाउने गरी बजेट विनियोजन भएपनि काठमाण्डौंतर्फको चासो कम हुँदा सडक झन–झन जीर्ण हुँदै गयो । सो सडकको लागि वि.सं. २०७० सालमा सुभावसचन्द्र ठकुरी संविधानसभा सदस्यमा निर्वाचित भएपछि थप सक्रियता देखाएको भएपनि निर्माणमा सोचेजति गति लिन सकेन । वि.सं. २०७३ सालमा उक्त सडकको विस्तृत परियोजना प्रस्ताव (डिपीआर) तयार भई निर्माणले थप गति लिएको हो । सडक निर्माणका लागि ठेक्का लगाइए पनि समयमै काम नभएपछि पछिल्लो पटक चित्लाङबासीको उत्साहजनक सहभागिताबाटै सडक निर्माणले गति लिएको हो । स्थानीयको उत्साहले निर्माण कम्पनीलाई सडक निर्माणमा सहजीकरण मिलेको थियो । स्थानीयहरुले सडक सरोकार समिति नै गठन गरेर थालिएको अभियानबाट नै उक्त सडकमा दोहोर सवारी सञ्चालन भएको कुरा कसैले बिर्सनुहुन्न । यस कार्यमा तत्कालिन बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँल, सांसद रमा मगर, तत्कालिन थाहानगर प्रमुख लवशेर विष्टलगायतको ठूलो योगदान रहेको थियो । पछिल्लो समय तत्कालिन सांसद विरोध खतिवडा, तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले सडकप्रति सकारात्मक योगदान दिएका थिए ।
यति लामो इतिहास र दृढ संकल्पले नागरिकले निर्माण शुरु गरेको सडक आज पनि उही अवस्थामा छ । विशेषतः राजनीतिक खिचातानी, सडक निर्माणमा जस लिने प्रवृत्तिले चित्लाङ–थानकोट सडक स्तरोन्नतीको काम सँधै छाँयामा परिरहेको छ । बेलाबेलामा सडकको ढुङ्गा बिक्री, ठेकेदारमाथि विभिन्न दाबाबका सवालहरु नआउने गरेका भने होइनन् । तर नागरिकलाई यो कुनै मुद्दाको चासो छैन । बस, उनीहरुलाई सडक चाहिएको छ । नागरिकहरु सजिलै चित्लाङ–थानकोट हुँदै संघीय राजधानी काठमाण्डौं प्रवेश गर्ने कालोपत्रे सडक चहान्छन् । प्रमुख राजनीतिकहरु कस्ले जस पाउने भन्नेमै रुमल्लिइ रहेका छन् । पछिल्लो समयत झन बजेट माग्न जाने, फाइल बुझाउने र सामाजिक सञ्जालमा फोटो र स्टाटस अपडेट गर्ने भन्दा अरु केही कामै भएनन् । दुखद् कुरा जीर्ण सडककै कारण २८ पुसको दुर्घटनामा ५ जनाले ज्यान गुमाए । त्यही सडकमा पछिल्लो तीन वर्षको अवधिमा ८ जनाले ज्यान गुमाइ सकेका छन् । राजनीतिक दलका नेतृत्व गर्नेहरु यति सम्झिदिनूस त्यही ८ जनामध्येको कोही तपाइको परिवार भएको भए तपाइलाई कस्तो महशुस हुन्छ ? सँधै जस लिनलाई प्रधानमन्त्री, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग चहारेर भाषण र फेसबुक स्टाटस अपडेट गर्ने कि सरकारबाट ठोस निर्णय गराई बजेट कार्यान्वयनमा ल्याउने ? चुनावै पिच्छे भोट माग्ने भाँडो बनाउने उक्त सडकको अवस्थादेखि अब सबै दललाई लाज लाग्नुपर्ने हो । सँधै चित्लाङ–चन्द्रागिरी सडक (गणेशमान सिंह मार्ग) का विषयमा भाषण मात्र गर्ने दलका नेताहरुले सडक स्तरोन्नतीको लागि संघीय सरकारबाट तत्काल बजेट विनियोजन गराई काम नगर्ने हो भने निकट भविष्यमै यो भन्दा ठूलो दुर्घटना सामना गर्नुपर्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्