पालिका प्रेस, अनलाइन प्लेटफर्ममा आधारित सञ्चार माध्यम हो । हामी स्थापनासंगै प्रशारणको तीन वर्ष पूरा गरी आजैबाट चौथो वर्षमा प्रवेश गरेका छौं । यो सुखद् अवसरमा तपाई सबैमा खुशी बाँड्न चाहन्छौं । वि.सं. २०७७ साल पौष ७ गते डोमेन दर्ता गरी शुरु भएको हाम्रो प्रशारण यात्रा सोही वर्षको श्री पञ्चमी (सरस्वती पुजा) को दिन अर्थात फागुन ४ बाट शुरु भएको थियो । हामीले वार्षिक उत्सव गतेलाई भन्दा पनि तिथीलाई आधार बनायौं । तिथी हाम्रो संस्कृति पनि हो । नामै पालिका प्रेस । सुन्दा अनौठो पनि छ । तर, हामीले नागरिकको सबैभन्दा नजिकको सरकारलाई आधार बनाएर सञ्चार माध्यमको नाम जुरायौं । पालिका सरकार हो । यो सरकारलाई स्थानीय सरकार भनेर चिनिन्छ । राज्य शक्तीको प्रयोग गर्न पाउने अधिकार संविधानमै भएकोले स्थानीय तह सरकार भएको हो ।

पालिका प्रेसकै पेरिफेरीमा रहेर कुरा गरौं । मुलुकमा संघीयता कार्यान्वयनमा आएसंगै सरकारको संख्या बढेको छ । यो कुरा तपाइलाई पनि थाहै छ । पहिले–पहिले केन्द्रमा रहने एउटा सरकारले विभिन्न निकाय र कार्यालय मार्फत दिने सेवा प्रवाहको अहिले विकेन्द्रिकरण भएको छ । अहिले संघमा संघीय सरकार, सात प्रदेशमा ७ वटा सरकार र ७ सय ५३ स्थानीय तहमा स्थानीय सरकार गठन भई दोस्रो कार्यकाल चलिरहेको छ । वि.सं. २०७९ सालमा भएको निर्वाचनबाट निर्वाचित प्रतिनीधिहरुले संघ, प्रदेश र स्थानीय सरकार हाँकिरहेका छन् ।

अब कुरा गरौं, तपाइ हाम्रोे घर छेवैको सरकारको । संघीयता कार्यान्वयन पश्चात्को पहिलो ५ वर्षे कार्यकाल सिक्दैमा गयो भन्ने हाम्रा स्थानीय सरकारका जनप्रतिनीधिहरु अझै साक्षी छन् । सिक्नु पनि त उपलब्धीको एउटा खुट्किलो न हो । वर्षौपछि भएको चुनाव पश्चात् निर्वाचित प्रतिनीधिले यसो भन्नु स्वभाविक पनि हो । अबको कार्यकालका प्रतिनीधिहरुले भने सिक्दै छौं भन्न छुट छैन । ७ सय ५३ स्थानीय सरकारका धेरैले आफ्नै प्रशासनिक भवन निर्माण गरिसकेका छन् । वडा कार्यालयहरु थपी सकेकाका छन् । भाडामा बस्ने सरकारहरु दिनदिनै घट्दो छ । प्रशानिक कार्यका लागि कर्मचारीहरुको संगठन संरचनाहरु बनाएका छन् । कतिपय स्थानीय सरकारले पुनरावलोकन गरेका छन् । प्रदेश लोकसेवा कार्यालयहरु सक्रिय भएका छन् । स्थानीय सरकारले पठाएको माग आकृतिका आधारमा धमाधम कर्मचारी भर्ना गर्दै स्थानीय तहहरुमा पठाइ रहेका छन् । पहिलो भन्दा दोस्रो कार्यकालका जनप्रतिनीधि योजना तर्जुमा र कार्यान्वयनमा खारिएका छन् । कर्मचारीहरुमा निखारतापन आएको छ, नागरिकहरु जागरुक भएका छन् । यत्ति भएपछि स्थानीय सरकार जुरुक्कै भएको छ । प्रदेश सुशासन केन्द्रले सञ्चालन गर्ने क्षमता अभिवृद्धि तालिमले जनप्रतिनीधि र कर्मचारीहरुलाई सेवा प्रवाहमा सिपालु बनाएको छ । यि सबै सूचकहरु हेर्दा स्थानीय सरकार बलियो हुदै आएको छ ।

स्थानीय सरकारको वर्षैपिच्छे बजेटको आकार बढ्दै गएको छ । यसले सम्बृद्धिको चित्र कोर्दै पनि गएको छ । कुवाको पानी खाने नागरिक धारामा पानी थाप्ने भएका छन् । डोकोमा तरकारी बोक्ने किसान गाडीमा बोकाउने भएका छन् । सडक सञ्जालले घरटोल समेटेको छ । स्थानीय सरकार साँच्चै नागरिकमा खुशी थप्ने सारथि बनेको छ । सदरमुकाम धाउनुपर्ने सेवा घरछेवैबाट पाइएको छ । गाउँ तथा नगर सभास्तरका विधायन, लेखा, सुशासन तथा विकास समिति स्थानीय सरकारमै छन् । आफ्ना नागरिकलाई चाहिएको कानून आफै बनाउँछन् । कर्मचारीले राखेको हिसाब किताब पालिकाको सार्वजनिक लेखा समितिले रुजू गर्छन् । छरछिमेकको खटपट न्यायिक समिति मार्फत पालिकामै मिलाउँछन् । आहा १ कति राम्रो स्थानीय सरकारको काम । कार्यपालिका स्तरमा ५ वटा विषयगत समिति क्रियाशील छन् । कार्यपालिका सदस्यहरु मध्येबाट प्रत्येक समितिको एक÷एक जनाले समितिको नेतृत्व गरिरहेका छन् । कम्तिमा अरु ४ जना सदस्य र सम्बन्धीत शाखा प्रमुख सदस्य सचिव छन् । पालिकास्तरमा आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वातावरण तथा विपद व्यवस्थापन र विधायन समिति गठन भएका छन् । यि समितिहरुले आफ्नो क्षेत्राधिकार भित्र पर्ने योजना तर्जुमा, कार्यान्वयन तथा समिक्षा गर्दै योजना चक्रमै आधारित भएर काम गर्दै आएका छन् । यति धेरै नागरिकमैत्री भएर काम गर्ने स्थानीय सरकार आफै प्रशंसाको पात्र बन्दै गएको छ ।

पत्रकारितालाई समाजको ‘वाच डग’ को रुपमा लिइन्छ । फेरि कतिपय भने नकारात्मक कुराको खोजी पड्ताल नै पत्रकारिता हो भनेर लाग्ने पनि तपाइ हाम्रै छेउछाउमा छँदैछन् । कोही त झन पत्रकार महासंघको सदस्य भएपछि पत्रकार हुँ भन्ने पनि हामीले नदेखेका भने होइनौं । हामी साना कुरालाई समाचार बनाउँछौं । नागरिकको दैनिक जनजीविकासंग जोडिएका सवाल हाम्रा समाचारको विषयवस्तु बन्छन् । देशको मुख्य सचिवको काममा भन्दा वडा सचिवको कामको प्रभावकारितामा हामी समाचार भेट्टाउँछौं । नागरिकलाई पालिका र वडाको कार्यालयका सहयोगीले गरेको सहजीकरण हाम्रा लागि ठूला हुन्छन् । र, त हामी भुईमान्छे र घरछेवैको स्थानीय सरकारसंग सम्बन्धीत समाचारलाई प्राथमिकतामा राखी प्रशारण गर्छौ । हामीले गएका तीवर्ष यहि ग¥र्यौ, अब पनि यहि बाटोमा हिँड्ने प्रतिवद्धता व्यक्त गर्दछौं । पढ्न नसक्नेले हाम्रो अनलाइनमा प्रकाशित समाचार सुन्न सक्ने बनाएका छौं । पालिका सन्देश र सूचनाहरु पनि सुन्न मिल्ने बनाउने प्रयासमा छौं । नकारात्मक समाचार मात्र प्रकाशन गरिरहँदा सकारात्मक काम गर्नेबाट अरुले कसरी सिक्ने ? त्यसैले हामी स्थानीय सरकारको सकारात्मक कामलाई सँधै प्राथमिकताको साथ समाचार बनाउँछौं । अरु स्थानीय सरकारलाई सिकाइको पाठ होस र समग्रमा सबै स्थानीय सरकार सही बाटोमा लागून् भन्ने हाम्रो ध्येय पनि हो । यसो भन्दैमा नकारात्मक कुरा उठानै नगर्ने भने होइन स्थानीय सरकारलाई जवाफदेही बनाउनु हाम्रो पनि कर्तव्य हो, यसलाई कहिल्यै बिर्सदैनौं ।

तसर्थ, तीन वर्षसम्म तपाइ हामीबीच जे जस्तो सहकार्य भयो अब झन अझ प्रगाढ बनाउन चाहन्छौं । स्थानीय सरकारहरुलाई जवाफदेही बनाउँदै नागरिकलाई जिम्मेवार बन्न र सहकार्य गर्न हामी सँधै तयार छौं । वार्षिक उत्सवको यस अवसरमा हामीलाई साथ दिनूहुने पाठक, पत्रकार, लेखक, शुभेच्छुक, विज्ञापनदाता र सबै सहयोगीहरुमा हार्दिक धन्यवाद दिन चाहन्छौं । आगामी यात्रामा पनि निरन्तर सहकार्य हुने अपेक्षा गर्दछौं ।

-सम्पादक: मणिराज थापा

मणीराज थापा
थप जानकारी