मकवानपुरगढी गाउँपालिका–७ को सुकौरा र ८ को खोटारमा शिवम् सिमेन्टबाट सञ्चालित खानीमा चुनढुंगा उत्खनन् गर्ने क्रममा मापदण्ड विपरीत फालिएको ओभरबटमले खोला नै पुरिएको छ । मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामास्याङ्तानको नेतृत्वमा ८ फागुनमा राजनीतिक दलका प्रतिनिधिसहित गरिएको अनुगमनमा खोला नै पुरिने गरी ओभरबटम फालिएको पाइएको गाउँपालिका अध्यक्ष स्याङतानले बताए । यो वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनको विपरित हो ।

अनुगमन टोलीले खानी क्षेत्रबाट निस्किएको ओभरबटम सीधै खोलामा फाल्ने शिवम् सिमेन्टको गैरजिम्मेवार कार्य भएको र कारबाहीको लागि सरोकारवालाको ध्यानाकर्षण गर्ने निष्कर्ष निकालेको छ । पालिका अध्यक्ष स्याङ्तानले शिवमले फालेको ओभरबटमले खोला पुरेको विषयमा शिवम्लाई मापदण्डअनुसार सुरक्षित ठाउँमा डम्पिङ गरेर राख्न र रोयल्टी नियमअनुसार पालिकालाई बुझाउन ताकेता गरेको तथा ओभरबटम हटाउन एक महिनाको समय दिए पनि समय सकिँदासम्म नहटाएकाले पुनः अनुगमनमा आएको बताए । जतिपटक अनुगमन जाँदा पनि शिवम् अटेरी गर्दै आएको छ ।

वर्षातको समयमा ओभरबटमले तल्लो बस्तीमा क्षति पुग्ने हँुदा शिवम्ले नियमअनुसार व्यवस्थापन नगरे खानी नै बन्द गराउनुपर्ने अवस्था आउने अध्यक्ष स्याङ्तानले बताएका छन् । उनले खानीक्षेत्रको स्थानीय सरकारलगायत जिल्ला बन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले अनुगमन गरेर सचेत गराउँदा पनि शिवम्ले अटेर गर्दै आएको स्पष्ट पारे । वडा नम्बर ३ का अध्यक्ष भागवत् घिमिरेले शिवम् सिमेन्टको लापरबाहीले मकवानपुरगढीको बस्ती, विद्यालय, खानेपानीलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएको बताए । ओभरबटमलाई शिवम् सिमेन्टले तत्काल व्यवस्थापन गर्नुपर्ने बताए । ओभरबटम उठाउँदा करको दायरामा आए वा नआएको कडाइसाथ अनुगमन गर्नुपर्ने बताए ।

वडा नम्बर ७ का वडा सदस्य प्रतिमान रुम्बाले उद्योगसँग खानीबाट निस्किएको ओभरबटम व्यवस्थापन गर्नुपर्ने र भविष्यमा बस्तीलाई खतरा हुनसक्छ भनेर पटकपटक भन्दै आए पनि यस विषयमा सुनुवाइ नभएको बताए ।

पालिका प्रेस
थप जानकारी