चालु आर्थिक वर्ष २०८०/०८१ को आठ महिना लाग्दा संघीय सरकारले स्थानीय सरकरको विभिन्न मूल्याङ्कनका नतिजाहरु सार्वजनिक गरेको छ । संघीय सरकारले विभिन्न सूचकमा आधारित भएर आर्थिक वर्ष २०७९/०८० को मूल्याङ्कन गरेको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरुको कार्य सम्पादन मुल्याङ्कन (कासमू), संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) र स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) का सूचकहरुमा मूल्याङ्कन गरेको हो ।

वित्त आयोगले स्थानीय सरकारहरुको १४ सूचकमा आधारित भएर कार्य सम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार मकवानपुरमा हेटौंडा उपमहानगरपालिका प्रथम स्थानमा रहेको छ । ८ फागुनमा सार्वजनिक गरेको नतिजा अनुसार हेटौंडाले ३७.११ अंक पाएको छ । कार्यसम्पादन मूल्याङ्कनमा थाहा नगरपालिका दोस्रो स्थानमा रहेको छ । थाहाले ३६.६६ अंक प्राप्त गरेको छ । मकवानपुरका स्थानीय तहहरुमा कार्यसम्पादनमा सबैभन्दा कमजोर बागमती गाउँपालिका रहेको पाइएको छ । बागमतीले कार्यसम्पादन मुल्याङ्कनमा १६.२२ अंक मात्र पाएको छ । कार्यसम्पादन मूल्याङ्कन अनुसार इन्द्रसरोवर गाउँपालिकाले २५.५२ अंक पाएको छ । आयोगले १७ मध्ये १४ वटा सूचकमा मात्र स्थानीय तहको मूल्याङ्कन गरेको जनाएको छ । कैलाशले ३२.५२, मनहरीले २९.८४, भीमफेदीले ३१.९१ अंक पाएको छ ।

त्यसैगरी मकवानपुरगढीले ३१.९७, बकैयाले २४.८४ अंक र राक्सिराङले २४.२४ अंक प्राप्त गरेको छ । कार्यसम्पादन मूल्याङकनको सूचकका आधारमा स्थानीय तहमा वित्तिय समानीकरण अनुदानको अंक निर्धारण हुने गर्दछ । प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश र स्थानीय तहका लागि निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन गरी अंक प्रदान गरिएको आयोगले जनाएको छ । स्थानीय तहहरुलाई वित्त आयोगले ७६ पूर्णाङ्क कायम गरी कार्य सम्पादन मूल्याङ्कन गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि स्थानीय तहहरुको स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) गरेको छ । जिल्ला समन्वय समितिहरुले प्रमाणको आधारमा प्रणाली मार्फत स्थानीय सरकारको मूल्याङ्कन गरेको नतिजा सार्वजनिक गरेको हो । मकवानपुर जिल्लाको १० स्थानीय तहहरुमा मनहरी गाउँपालिका र थाहा नगरपालिका यस मूल्याङ्कनमा अग्र स्थानमा रहेका छन् । दुवै स्थानीय तहहरुले वित्तिय सुशासन जोखिम मुल्याङ्नमा समान ७३.५ प्रतिशत प्राप्त गरी अग्र स्थानमा रहेका हुन् ।

यसैगरी कुल ७१ अंक सहित हेटौंडा उपमहानगरपालिका दोस्रो स्थानमा छ भने कैलाश र मकवानपुरगढी गाउँपालिका समान अंक ७० दशमलब ५ प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । बकैया गाउँपालिकाले ६८.५, राक्सिराङ गाउँपालिका ६४.५, बागमती गाउँपालिका ६०.०५, भीमफेदी ४७.५ र इन्द्रसरोवर गाउँपालिकाले ४५.५ अंक प्राप्त गरेका छन् । स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन सम्बन्धी कार्यविधि, २०७७ बमोजिम प्रत्येक आर्थिक वर्षमा स्थानीय तहहरुको मूल्याङ्कन हुने गर्दछ । यस मूल्याङ्कन अन्तर्गत पाँचवटा विषय क्षेत्रमा एकसय वटा सूचक रहेका छन् ।

यसैबीच स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) मा आर्थिक वर्ष २०७९÷०८० मा हेटौंडा उपमहानगरपालिका ८८.५ अंक सहित अग्रस्थानमा रहेको छ । मनहरी गाउँपालिकाले ७७.५ अंक पाएको छ । त्यसैगरी थाहा नगरपालिकाले ७४.२५, राक्सिराङ गाउँपालिकाले ६८.५, भीमफेदी गाउँपालिकाले ६४.७५, बकैयाले ६२.२५, इन्द्रसरोवरले ६१.२५, कैलाशले ६१.५, मकवानपुरगढीले ६१.२५ र बागमती गाउँपालिकाले ५७.७५ अंक पाएको छ । यस मूल्याङ्कनमा कुल एकसय वटा सूचकमा रहेको मन्त्रालयले जनाएको छ । यस मूल्याङ्कन अन्तर्गत १० वटा विषय क्षेत्र रहेका छन् ।

पालिका प्रेस
थप जानकारी