स्थानीय तहले कार्य सम्पादन मूल्याङ्कनको आधारमा प्राप्त गरेको अंक राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको छ । आयोगले स्थानीय तहसहित प्रदेश सरकारहरुले प्राप्त गरेको अन्तिम नतिजा २९ फागुनमा सार्वजनिक गरेको हो । कार्य सम्पादन मूल्याङ्कनको प्रारम्भिक अंक ८ फागुनमा प्रकाशित गरी ७ दिनको समय दिई पुनरावलोकन गर्न सूचना प्रकाशन गरेको थियो । उक्त अवधिमा प्राप्त निवेदनका आधारमा आयोगले अन्तिम नतिजा प्रकाशन गरेको हो ।

सार्वजनिक अंक अनुसार मकवानपुरमा हेटौंडा उपमहानगरपालिकाले ६१.११ अंक प्राप्त गर्दै पहिलो स्थानमा छ । ६०.६६ अंकसहित थाहा नगरपालिका दोस्रो स्थानमा रहेको छ । थाहालाई हेटौंडाले जम्मा ०.४५ अंकले उछिनेको छ । मकवानपुरका १० स्थानीय तह मध्ये कार्य सम्पादन मूल्याङ्कनको कुल १०० पूर्णाङ्कमा ६० अंक कटाउने यि दुई पालिका मात्र हुन् ।

त्यसैगरी मकवानपुरगढी गाउँपालिकाले ५५.९७ अंक पाएको छ । भीमफेदी गाउँपालिकाले ५५.९१, कैलाश गाउँपालिकाले ५६.५२, मनहरीले ५३.८४, इन्द्रसरोवरले ४९.५२, बकैयाले ४८.८४, राक्सिराङले ४८.२४ र बागमती गाउँपालिकाले ४०.२२ अंक प्राप्त गरेको छ ।

कार्यसम्पादन मूल्याङकनको सूचकका आधारमा स्थानीय तहमा वित्तिय समानीकरण अनुदानको बजेट निर्धारण हुने गर्दछ । प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश र स्थानीय तहका लागि निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन गरी अंक प्रदान गरिएको आयोगले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी