जनकल्याण माविले राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता, २०८० मा उत्कृष्ट खेल प्रदर्शन सहित विजेता हुने खेलाडी विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । थाहा नगरपालिका वडा नम्बर ३ को जनकल्याण माविले विद्यार्थीहरुलाई १० चैतका एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य मेनुका आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका प्रतिनिधिहरु, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष तथा पुर्व शिक्षक कृष्ण बहादुर बिष्ट, पालुङ क्याम्पसका प्राध्यापक प्रकाश पौडेल, विद्यालयका पुर्व लेखापाल मधुसूदन रायमाझी पत्रकार शम्भु अधिकारीलगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

नगरपालिकास्तरीय रनिङशिल्ड प्रतियोगितामा जनकल्याण माबिले १७ स्वर्ण, १४ रजत र ७ कास्य पदक सहित शिल्ड जितेको थियो । कार्यक्रममा विजेता विद्यार्थीहरुलाई प्रधानाध्यापक सानोभाइ कार्कीले टीका र खादा लगाएर सम्मान गरेका थिए ।

पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विद्यालयबाट सहभागी छात्र, छात्राहरूले खेलहरूमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएकामा उनले विद्यार्थीहरुलाइृ बधाई पनि दिए । नगरपालिका अन्तर्गत सहभागी रहेको १३ वटा विद्यालयहरूबीच भएको प्रतियोगितामा जनकल्याण प्रथम भएको थियो । प्रधानाध्यापक कार्कीले विद्यालयको विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीको पनि सफलता भएको उल्लेख गरे ।