मकवानपुरको थाहा नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको छ । १९ फागुनमा एक कार्यक्रमका बीच थाहा नगरपालिकालाई बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा गरेकी हुन् । थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको प्रस्तावमा मन्त्री मोक्तानले पालुङ जेसिज सभाहलमा भएको घोषणासभाका बीच अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिन् । थाहानगर शिक्षा समितिले १६ असारमा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्ने निर्णय गरेको थियो ।

नेपाल सरकारले जारी गरेको अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ को व्यवस्था अनुसार थाहा नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको हो । मकवानपुरका १० पालिकाहरु मध्ये थाहानगर अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भएको दोस्रो पालिका हो । यसअघि मकवानपुरगढी गाउँपालिका घोषणा भइसकेको छ । कार्यक्रममा बालबालिकाको पढ्न पाउने अधिकारलाई स्थापित गर्न यस कार्यक्रमले मद्दत पुग्ने मन्त्री मोक्तानले बताइन् । विद्यालय भर्ना नभएका बालबालिकाहरुलाई विद्यालय पु¥याउन सके शैक्षिक जनशक्ति बढ्ने उनले विश्वास व्यक्त गरिन् । कार्यान्वयनमा चुनौति देखिइरहँदा पनि थाहा नगरपालिकाले घोषणा गर्नु ठूलो उपलब्धी भएको मन्त्री मोक्तानको भनाइ थियो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन आवश्यक रहेको औल्याउँदै मोक्तानले प्रदेश सरकारले अहिले शिक्षालाई केन्द्रमा राखेर काम गरिरहेको बताइन् ।

 

बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक दिपेन्द्र सुवेदीले राज्यले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा गरेको प्रतिवद्धता पूरा गर्नका लागि थाहा नगरपालिकाको घोषणाले सहयोग पु¥याएको बताए । महानिर्देशक सुवेदीले घोषणासंगे थाहानगरमा जन्मने सबै बालबालिकाहरु विद्यालय पूग्ने भएकोले थाहा नगरपालिका बालश्रम मुक्त भए झै भएको स्मरण गरे । थाहा नगरपालिका प्रमुख विष्णु बहादुर विष्टले विद्यालय जाने उमेरका नगरपालिकाका सबै बालबालिका विद्यालय पु¥याउन सफल भएकाले पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोेषणा गरिएको स्पष्ट गरे । प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले घोषणामा मात्र सीमित हुन नहुने उल्लेख गर्दैै विद्यालयबाहिर रहेका बालबालिकालाई यसै शैक्षिक सत्रभित्र विद्यालय भर्ना गर्नुपर्ने चुनौती औल्याए ।

घोषणा सभामा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, नेपाल शिक्षक महासंघका नगर अध्यक्ष राजाराम कार्की, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद लामा, नेकपा एमालेका थाहानगर सचिव सुजन रायमाझीललगायतले शुभकामना व्यक्त गरेका थिए । सभामा नगर शिक्षा शाखा प्रमुख माधव विक्रम मल्लले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी थाहाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा थाहा नगरपालिका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रमुख, राजनैतिक दलका प्रतिनिधि, सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी, शिक्षक संघ संगठनका प्रतिनिधिहरु, प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो। सो अवसरमा आर्थिक अवस्था कमजोर भएका २५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको थियो।

थाहामा अब निःशुल्क शिक्षा

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भएसंगै पालिकाका माध्यमिक तहसम्म अध्यापन गराउने विद्यालयहरुले अब शुल्क लिन नपाउने भएका छन् । विद्यालयहरुले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ मा भएका व्यवस्थाहरुलाई कार्यान्वयन गर्नुपर्ने शिक्षा शाखा प्रमुख माधव विक्रम मल्लले जानकारी दिए ।

ऐन अनुसार प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा प्रदान गर्ने दायित्व हुने र त्यसका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले जिम्मेवारी लिनूपर्ने छ । प्रत्येक नागरिकलाई माध्यमिक तहसम्म आ शिक्षा प्रदान गर्ने दायित्व राज्यको दायित्व हुने र यसका लागि नेपाल सरकारले आवश्यक समन्वय र नेतृत्व गर्ने उल्लेख गरिएको छ । ऐनमा बालबालिका, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति लगायत सबैको भूमिका तोकिदिएको छ ।

ऐन अनुसार २०८५ साल वैशाख १ गतेपछि आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कुनै पनि सरकारी सेवामा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व, अनुदान वा नियन्त्रणमा रहेको कुनै संस्थाको सेवामा प्रवेश गर्न वा कुनै पनि सरकारी, गैरसरकारी वा निजी क्षेत्रमा स्थापित कुनै पनि संस्थामा कुनै पनि पदमा निर्वाचित, नियुक्ति वा मनोनयन हुन वा कुनै रोजगारी प्राप्त गर्न अयोग्य हुने छ । त्यसैगरी कम्पनी, फर्म, सहकारी संस्था वा गैरसरकारी संस्थाको संस्थापन गर्न वा त्यस्तो कम्पनी फर्म वा संस्थाको संस्थापक सेयरधनी, सञ्चालक वा सदस्य वा कुनै पदाधिकारी लगायतमा समेत आवद्ध हुन नपाइने व्यवस्था कानुनमा छ ।

थाहामा अझै ७८ बालबालिका शिक्षाबाट वञ्चित, ११ नम्बर वडामा सबैभन्दा बढि

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भइरहँदा थाहा नगरपालिकामा ४ देखि १३ वर्ष उमेर समुहका ७८ जना बालबालिका शिक्षाबाट वञ्चित भैरहेको तथ्याङ्कले देखाएको छ । थाहा नगरपालिका शिक्षा शाखाको तथ्याङ्क अनुसार अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम लागू हुनुअघि १ सय ७५ विद्यालय बाहिर रहेकोमा ९७ बालबालिका विद्यालय भर्ना भएको शाखाको अभिलेख छ । शाखाले यो तथ्याङ्क समुदायस्तरमै तथ्याङ्क संकलक खटाएर विवरण संकलन गरेको थियो ।

तथ्याङ्क अनुसार वडा नम्बर १ मा ७ जना विद्यालय बाहिर रहेकोमा ४ जना विद्यालय भर्ना भएका छन् । वडा नम्बर २ मा ११ जना विद्यालय बाहिर भेटिएकामेमा ६ जना भर्ना भएकाछन् । वडा नम्बर ५ जना भेटिएकोमा ३ जना भर्ना भएका छन् ।

त्यसैगरी वडा नम्बर ४ मा १९ जनामा ११ जना विद्यालय भर्ना भए । वडा नम्बर ५ मा ३२ जना विद्यालय बाहिर रहेकोमा २० जना विद्यालय भर्ना भएका छन् । वडा नम्बर ६ मा १२ जना विद्यालय बाहिर रहेकोमा १० जना विद्यालय भर्ना भएका छन् । वडा नम्बर ७ को १६ मा ११ जना, ८ नम्बर वडाको १५ मा ५ जना विद्यालय भर्ना भए । ९ नम्बर वडाको ९ मा ५ जना विद्यालय भर्ना भएका छन् भने १० नंम्बर वडाको कुनै पनि बालबालिका विद्यालय बाहिर नभएको तथ्याङ्क छ । ११ नम्बर वडाको १९ मा ६ जना विद्यालय भर्ना भएका छन् । १२ नम्बर वडाको १९ मा ६ जना मात्र विद्यालय भर्ना भएको थाहा नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी