वरीपरि अग्ला–अग्ला डाँडा, बेशीमा टिलबिल–टिलबिल पानी भरिएको खेत । छेवैमा गुजमुज्ज हरियो धानको ब्याड । दिउँसो ११ बजेतिर हलो–जुवा काँधमा हालेर प्वाँले र बादुरे गोरु खेद्दै राम कुमार कार्की त्यहीँ पुगे । बर्खाको झरी पाखा लागेर घमाइलो बनेको असार १५ ले गोरु नार्न फाँटमा पुगेका रामकुमारलाई मात्र होईन गाउँभरीका लाठे, बाउसे र रोपाहारलाई स्वागत गरिरहेको भान हुन्थ्यो । त्यही बेला रोपाई मेलामा सहभागी हुन दामनपालुङबाट एक हुल युवा पनि टुप्लुक्क पुगिहाले । यो दृश्य हो, मकवानपुरको आग्रामा रहेको आकाशे फाँटको ।

थाहा नगरपालिका वडा नम्बर ८ मा पर्ने यो फाँटको ओल्लो छेउमा बसेर पल्लो छेउसम्म आँखा डुलाउँदा साँच्चै आकाश जस्तै देखिन्छ । धान हुर्किदा त झन नीलो न नीलो आकाश जस्तै । यहि भएर पनि यो फाँटको नाम आकाशे फाँट राखिएको होला भनेर संवाददाताको अनुमान छ । थाहा नगरपालिकाकै सबैभन्दा बढि रोपाइ हुने आकाशे फाँटमा असार १५ को मौका छोपेर किसानहरुले रोपार, लाठे, हली जोरजाम गरेका थिए । गोरु नपाएकाहरुले ट्याक्टरमा पेट्रोल हालेर ठीक्क पारेका थिए । आकाशे फाँटमा १२ बज्दा नबज्दै रोपार जम्मा भए, त्यतिबेलासम्म हली र लाठेले मेलो लिइसकेका थिए ।

भकारी पुजा सकेर खेत धनीले टिकोटालो सकेपछि असारे भाका हाल्दै रोपाइ शुरु भयो–‘बाटो है माथि बाटो है तल बूढो नि खरायो, रोपाहार रानी रोप्दै थिए बाउसे नै हरायो …।’ यस्तै–यस्तै व्यंग्य अनि रमाइलो । सेतै दारी कपाल फुलेका हली रामकुमार रोपाहारका माझ निकै ठट्यउली गर्थे । उनका पछिपछि बाउसे जगत बहादुर कार्की र सुर्य बहादुर थापा पनि सघाउँथे । आग्रामै जन्मी हुर्केका उनीहरु आकासे फाँटका स्थायी बाउसे र हली हुन् । आकाशे फाँटको रोपाइमा युवापुस्ता छैँदै छैनन् । पाकापुस्ताको वर्चश्व छ । गाउँमा पर्मा लगाउने, खेतीपाती गर्ने जीवनशैली नै उनीहरुको दैनिकी बनिसकेको छ । त्यसोतः पाहुना आउँदा आग्रेलीको सत्कार साह्रै मनकारी । रोपाइमा पुगेका दामनपालुङका युवाहरुलाई रोपार, लाठे, सबैले स्वागत गरे । छुपुछुपु रोपाइ गरिरहेका रोपाहारकाबीच युवाहरुले पनि सिको गरे । छिनमै बाउसे अनि हलिको नक्कल त कति गरे–गरे । दामनपालुङबाट निरोज प्रधान, गणेश विष्ट, नरहरि पौडेल, च्याङ श्रेष्ठ, सुरज भुजेल, विष्णु कार्की, प्रवेश केसी र आकाश कार्की आकाशे फाँट पुगेका थिए ।

रोपाहार, हली बाउसेहरुसंग नजिक भएका युवाहरुका माझ थाहा नगरपालिका वडा नम्बर ७ का पूर्व वडाध्यक्ष सनमसिं मोक्तानले स्थानीयहरुसंग घुलमिल हुन थप सजिलो बनाइ दिए ।स्थानीय शिक्षक, किसान, प्रतिनीधिहरुसंगको चिनजानका बीच युवाहरु हिलाम्मे भैसकेका थिए । आग्राका राममणी कार्की ट्याक्टरले नै खेत सम्याइरहेका थिए । त्यही मौकामा युवाहरुले गोरु मात्र होइन ट्याक्टर जोत्न पनि भ्याए । ओल्लो पल्लो गरामा हिलो खेल्न निम्तो गर्दै बोलाउने शैली नि भिन्दै । रमाइलो गर्नेहरुलाई इसारा गर्दै भन्थे–‘होहोरी हो हो, होहोरी हो ।’ यति भनेपछि त्यो गरामा नि पुग्नै पर्ने । खेतमा हिलो छ्यापा–छ्याप सामान्य भयो । किनभने हिलो छ्याप्न पर्ने ठाउँ बाँकी नै थिएन, सबै हिलाम्मे । स्थानीय रोपाहार, लाठे, बाउसे, हली सबैसंग सिको गर्दै विहान हिलाम्मे आकासेफाँट रोपाइ पछि हरियो देखियो । काम गर्ने कामले, सिको गर्ने रमाइलोले उफ्रेर नै थाके ।

रोपाइ सकेपछि सरिता थापाले मान्छेपिच्छे दही चिउराको भाग ठीक पारिन् । पहिले खानेले थाल भेट्टाए, पछि हुनेले टपरी । कर्दले काट्न पर्नेझै गाउँमै बनाएको दही, मुठीका मुठी चिउरा, सिमीको बिरौला सबैले खाजा खाए । सरिताको परिवारलाई सबैले धन्यवाद दिदै भने–‘मानो रोपेर मुरी फलोस, शुभकामना ।’ खेतको आलीमै बसेर जगतबादुरले कुरो कोट्याए–‘नगरपालिकाबाट पनि कृषिका सरहरु आउने कुरा थियो, विर्सनू भयो क्यारे !’ उनीहरुले नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीहरुलाई स्वागत गर्ने कार्यक्रम बनाएका रहेछन् । पालिकाका जनप्रतिनीधि र कर्मचारी नपुगेको कुरा थाहा पाएका अर्का बाउसे सुर्य बहादुरले थपे–‘१५ गते नि बिर्सन्छन् त, दुर्गम भएर नआउनु भको होला, हामी त डाँडा पारीका न परेउँ ।’

हेर्नुहोस् फोटोफिचरः      

 

 

गणेश विष्ट
थप जानकारी