बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले अपाङ्गता भएकाहरुको लागि प्रदेश सरकारले यो वर्ष गतवर्षको तुलनामा चौगुणा बजेट बिनियोजन गरेको बताएकी छिन् । थाहा नगरपालिकामा १० असारमा आयोजना गरेको अपाङ्गता भएकाहरुको लागि सहायता सामाग्री तथा छात्रवृत्ति वितरण कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री मोक्तानले यस्तो बताएकी हुन् ।

मन्त्री मोक्तानले समुदायमा आधारित सिबिआर कार्यक्रमलाई निरन्तरता दिदै आगामी वर्षको बजेटमा अपाङ्गता भएकाहरुको लागि सीप विकास र स्वरोजगार मुलक कार्यक्रम कार्यक्रमका साथै फरक क्षमता भएकाहरुको निम्ति उद्यमशिलतामा परिणत गर्न बीउ पुजीको समेतको कार्यक्रमहरु बजेटमा समावेश गरेको बताइन् । मन्त्री मोक्तानले अपाङ्गता भएका व्यक्तिहरूलाई परनिर्भरता बनाउनुभन्दा उनीहरुसंग भएको सीप र क्षमतालाई सदुपयोग गरी व्यावसायिक बनाउने कार्यक्रम रहेको र यस्को लागि प्रदेश सरकारले स्थानीय तह र अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थाहरु संग सहकार्य गरेर अगाडि बढ्ने बताइन् ।

कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरेले पछिल्लो समयमा मुलुकले पछाडी परेका अपाङ्गता भएका समुदायलाई राज्यको मुल धारमा ल्याउन संविधानमा नै व्यवस्था भएपछी सरकारले विशेष ध्यान दिरहेको बताए । थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर विष्टले अपाङ्गता भएकाहरुको सीप र क्षमता विकासको लागि थाहा नगरपालिकाको १६ औ नगरसभाबाट नीति तथा कार्यक्रममा नै समाबेश गरेको बताउदै स्थानीय सरकार अपाङ सरोकारको विषयमा गम्भीर रहेको बताए ।

अपाङ्ग सरोकार केन्द्र मकवानपुर र थाहा नगरपालिकाको आयोजना तथा स्थानीय अपाङ्ग समन्वय समितिको सहकार्यमा भएको कार्यक्रममा नगरपालिका भित्र रहेका ४५ जना विद्यार्थी लाई शैक्षिक सामाग्री तथा थाहा ४ का बिष्णु भुजेल, थाहा १ का गणेशमान श्रेष्ठ, थाहा ११ का राजकुमार स्याङ्तानलाई कृतिम खुट्टा तथा थाहा ११ का आरुशी लो र बिजय थिङलाई कृतिम हात प्रदान गरिएको थियो।

थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी, थाहा ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, कार्यपालिका सदस्य पवित्रा सिंह ठकुरी, अनिता बल, शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्ल, अपाङ्ग सरोकार केन्द्र मकवानपुरका अध्यक्ष गणेश चन्द्र दवाडी, उपाध्यक्ष दिल बहादुर स्याङ्बो, अपाङ्ग सरोकार समिती थाहाका संयोजक मनलाल गोपाली, महिला बालबालिका तथा अपाङ्ग परिचयपत्र वितरण शाखा प्रमुख प्रतिमा मोक्तान, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेलगायतको उपस्थिति रहेको थियो। थाहा नगरपालिकाका रोजगार संयोजक कुमार नेगीले संचालन गरेकोे कार्यक्रममा थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले स्वागत गरेका थिए ।

पालिका प्रेस
थप जानकारी