मकवानपुर थाहा नगरपालिकाले नगरका १ हजार ९ सय ९८ बालिकाहरुलाई पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप निःशुल्क दिने भएको छ । नेपाल सरकारको खोप अभियान अन्तर्गत २२ माघदेखि ६ फागुनसम्म थाहानगरले १० वटा स्वास्थ्य संस्थाबाट बालिकाहरुलाई एचपीभी खोप लगाउन लागेकोे स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।

‘पालिका क्षेत्रमा रहेका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने १ हजार ९ सय ९८ बालिकालाई निःशुल्क खोप लगाउने लक्ष्य छ, हामी तयारीमा लागिसकेका छौं’–स्वास्थ्य शाखा प्रमुख बलामीले भने । खोप अभियानको तयारी अन्तर्गत ३ माघमा नगर खोप समन्वय समिती, सरोकारवाला निकायका प्रतिनीधि र सञ्चारकर्मीहरुलाई अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरिएको छ ।

थाहा नगरपालिकाकोे नयाँवस्ती आधारभूत स्वास्थ्य केन्द्रले १ सय ७८ बालिकालई खोप लगाउने लक्ष्य लिएको छ । २२ माघदेखि ६ फागुनसम्म लगाइने एचपीभी खोप पालुङ स्वास्थ्य चौकीले १ सय ९२, पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले ३ सय ९२, भूमिस्थान आधारभूत स्वास्थ्य केन्द्रले ४५, बज्रवाराही स्वास्थ्य चौकीले ३ सय १९ बालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । त्यस्तै देउखेल शहरी स्वास्थ्य केन्द्रले १ सय ४०, आग्रा स्वास्थ्य चौकीले २ सय १६, चित्लाङ स्वास्थ्य चौकीले ६८ जना, टौखेल शहरी स्वास्थ्य केन्द्रले १ सय ५३ र टिष्टुङ स्वास्थ्य चौकीले २ सय ९५ बालिकाहरुलाई एचपीभी खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य शाखा प्रमुख बलामीले जानकारी दिए ।

कार्यक्रममा सहजीकरण गर्दै पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर बिनिशा श्रेष्ठले भाइरसको संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउनेलगायत रहेको बताइन् । डाक्टर श्रेष्ठले धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धूमपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिदा पनि पाठेघरको मुखको क्यान्सर हुने उल्लेख गरिन् । श्रेष्ठका अनुसार ३० देखि ४५ वर्षसम्म पुग्दासम्म ८० प्रतिशत एचभीपीको संक्रमण भइसकेको हुन्छ, ९ देखि १४ वर्ष खोप लगाउने उपयुक्त उमेर हो ।’

स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले एचपीभी खेपलाई नियमित खोपको कार्यक्रममा समावेश गरी १० वर्षको बालिकालाई मात्रै दिने सरकारको योजना रहेको कार्यक्रममा जानकारी गराए । ‘अर्को वर्षदेखि एचपीभी खोप नियमित खोप कार्यक्रममा समावेश गरिने जानकारी छ’–बलामीले भने। नगर खोप समन्वय समितिका संयोजक तथा नगर कार्यपालिकाका प्रमुख विष्णु बहादुर विष्टकोे सभाध्यक्षतामा भएको अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीका सहभागीहरुलाई जनस्वास्थ्य कार्यालय मकवानपुरका अधिकृत डिरेन्द्र बुढा मगर, जिल्ला जनस्वास्थ्यका मनिर आलम, पालुङ प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डाक्टर बिनिशा श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीलगायतले सहजीकरण गरेका थिए ।

पालिका प्रेस
थप जानकारी