
मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ र ७ को साँधमा रहेको अस्पताल डाँडामा ९ चैत्रमा पर्यटकीय सम्भावना, अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । पालुङ जेसीजको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर २ को वडाध्यक्ष बम बहादुर सिन्तानको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी तथा वडा अध्यक्ष सिन्तानले पालुङ जेसीजकै पहलमा पालुङ गढी पनि पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढिरहेको स्मरण गर्दै अब अस्पताल डाँडालाई पनि नयाँ गन्तव्य पहिचानको बाटो खुलेको बताए । अध्यक्ष सिन्तानले पर्यटन प्रवद्र्धनका लागि वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । हिमचुली सामुदायिक बन उपभोक्ता समितिको सहकार्यमा भएको कार्यक्रममा समितिका अध्यक्ष जित बहादुर तामाङले नगरपालिका भित्र लुकेर बसेका यस्ता पर्यटकीय गन्तव्यको उजागर गर्नको निम्ति सबैको हातेमालो आवश्यक रहेको औल्याए ।
कार्यक्रममा थाहा २ का पूर्व वडा सदस्य बिष्णु बहादुर थापाले वडामा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रचार गर्नका लागि सबै संघसंस्थाको योगदान बढाउनुपर्ने उल्लेख गरे । कार्यक्रममा पालुङ जेसिज बर्ष २०२५ को अध्यक्ष माधव कार्कीले हनुमानले सञ्जीवनी बुटीको पहाड बोकेर ल्याउँदा त्यसको केही भाग झरेको कारणले ठाउँकै नाम ‘अस्पताल डाँडा’ रहन गएको धार्मिक कथन सुनाए । उनले अस्पताल डाँडामा हनुमानको ठूलो मूर्ति बनाएर प्रचारप्रसार गर्न सके ऐतिहासिक र धार्मिक पर्यटकीय क्षेत्रको गन्तव्यको रुपमा स्थापित हुने विश्वास गरे । अध्यक्ष कार्कीले अस्पताल डाँडा, झण्डा गाडे, भकारी ढुङ्गा, भकारी गुफालगायत विभिन्न पर्यटकीय गन्तव्यहरु भएकोले प्रचार गरी यहाँबाटै आर्थिक उपार्जनमा समेत सहयोग मिल्ने बताए । नगरलाई पर्यटकीय दृष्टिकोणले चिनाउनका लागि स्थानीय सरकार, प्रदेश र संघ सरकारले समेत सहयोग गर्नुपर्ने उनको अपेक्षा थियो ।
पालुङ जेसिजकी सन्जिता बस्नेतको संयोजकत्वमा भएको कार्यक्रममा जेसीज वर्ष २०२५ का उपाध्यक्ष विकेश बाबू बस्नेत, जकी कोषाध्यक्ष नविना बिष्ट, वडा सदस्यहरु अर्जुन कार्की, सुनिता बिक, नेकपा माओवादी केन्द्रका २ नम्बर वडा अध्यक्ष बिक्रम तामाङ, नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका महासचिव सैलेन्द्र केसीलगायत स्थानीय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका अतिथी तथा सहभागीहरुलाई पालुङ जेसिजका सदस्य रवि कार्कीले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्