हेटौंडा उपमहानगरपालिका भित्रका तीन वटा वडा जोड्ने दुई वटा पुलको निर्माण सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिककी प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा हेटौंडा–७ र ८ जोड्ने र नम्बर ६ र ७ जोड्ने पुलको उद्घाटन गरेका हुन् ।

पुल निर्माण भएसँगै खहरेका कारण हुने गरेको समस्याबाट यस वडाका सर्वसाधारणलाई राहत पाउने भएका छन् । हेटौंडा–नागस्वती–हटिया सडक खण्डअन्तर्गत् हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ र ७ जोड्ने हरियालीमा रहेको खहरेमा निर्माण भएको र वडा नम्बर ८ ओमनगर खहरेमा निर्माण गरिएका पुलको उद्घाटन गरिएको हो ।

वडा नम्बर ६ र ७ जोड्ने ११ मिटर लम्बाइको पुल १ करोड १९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो भने वडा नम्बर ८ मा रहेको १४ मिटर लम्बाइको पुल ८२ लाख ३ हजार ९८६ रुपैयाँको लागतमा सम्पन्न गरिएको उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी