त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ स्कूल चोकमा १२ जेठ साँझ भएको दुर्घटनामा तीन जना पैदल यात्रीको ज्यान गएको छ । दुर्घटनामा परी अरु ३ जना घाइते भएका छन् । थाहाकै गोपाली गाँउबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई सडकमा हिँडिरहेका ६ जनालाई ठक्कर दिदा दुर्घटना भएको हो ।

बसको ठक्करबाट थाहा नगरपालिका वडा नम्बर ९ का ४० वर्षीय कृष्ण बलामी र सप्तरी जिल्लाको विष्णुपुर गाउँपलिका–५ का शिक्षक ४० वर्षीय लोकेन्द्रकुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । बलामी थाहानगरको थाना बजारमा लेखापढी व्यवसाय गर्दै आएका थिए भने ठाकुर थाहा–१ को झम्केश्वरी माविमा शिक्षण पेशामा थिए ।

त्यस्तै दुर्घटनामा गम्भीर घाइते भएका अहुराही गाउँपालिका–१ सिराहाका ३३ वर्षीय रघुनन्दन यादवको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यादव पनि थाहा नगरपालिका–१ स्थित झम्केश्वरी माविकै शिक्षक हुन् । बसको ठक्करबाट घाइते भएका ३६ वर्षीय कमलेश कुमार साहको अवस्था गम्भीर रहेको र उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको थियो । ट्रमा सेन्टरबाट पनि साहलाई बी एण्ड बी अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्यालले जानकारी दिए । पैदलयात्रीहरुलाई बसले पछाडीबाट ठक्कर दिएको थियो ।

बसको ठक्करबाट बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–१७ का ३२ वर्षीय छेवाङ लामा र बारा जिल्लाको कोहल्बी नगरपालिका–१ का ३० वर्षीय रामगुलाम चौधरी सामान्य घाइते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भएको छ । प्रहरीले बस चालक थाहा नगरपालिका–५ का २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । ब्रेक फेल भएपछि ओरालो बाटोमा बस अनियन्त्रित हुँदा पैदलयात्रीलाई ठक्कर दिएको बताइएको छ । बसमा यात्रु भने थिएनन् ।

पालिका प्रेस
थप जानकारी