
शन्तराम विडारी प्रेस काउन्सिल नेपालको सदस्यमा मनोनित भएका छन् । विडारी मकवानपुर थाहा नगरपालिका क्षेत्रबाटै पहिलो पटक प्रेस काउन्सिल नेपालको सदस्यमा मनोनित भएका व्यक्ति हुन् । उनी थाहा नगरपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा हुन् ।
लामो समयदेखि पत्रकारिता र पत्रकारिताकै प्राध्यापकको रुपमा रहेका विडारीसहित ६ जनालाई सरकारले सदस्यमा मनोनित गरेको छ । मकवानपुरबाटै यसरी मनोनित हुने विडारी दोस्रो व्यक्ति हुन् । पहिलो पटक हिरण्ड्यलाल श्रेष्ठलाई वि.सं. २०४८ सालमा बोर्ड सदस्य र त्यसअघि वि.सं. २०४७ सालमा बोर्डको सल्लाहकारमा सरकारले मनोनित गरेको थियो ।
सरकारको १२ जेठको निर्णयानुसार निमा काफ्ले, नकुल अर्याल, शान्तराम बिडारी, भीमलाल श्रेष्ठ, बालकृष्ण अधिकारी र पदमराज जोशी काउन्सिलको सदस्यमा नियुक्त भएका छन् । उनीहरुको पदावधि चार वर्षको हुनेछ ।
बोर्ड सदस्यमा नियुक्त भएपश्चात् प्रतिक्रिया दिदै सदस्य विडारीले भने ‘महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नुहुने माननीय मन्त्रीज्यू तथा सम्बन्धित सबैप्रति हार्दिक आभार र कृतज्ञता प्रकट गर्दछु।’ त्यस्तै, विडारीले मनोनयनप्रति बधाई दिँदै कार्यकाल सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्नुहुने सबै महानुभावहरूप्रति पनि म अन्तरहृदयदेखि नै धन्यवाद ज्ञापन गरेका छन् । सदस्य विडारी सहित सबैलाई पालिका प्रेस परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।
नवनियुक्त प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य शन्तराम बिडारी को हुन् ?
मकवानपुर थाहा नगरपालिका वडा नं ६, टिस्टुङ बज्रबाराहीका स्थायी बासिन्दा शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापन कार्यमा कृयाशिल छन् ।
विगत दुई दशकदेखि सक्रिय पत्रकारका रूपमा नेपाल समाचारपत्र दैनिक, गोरखापत्र दैनिक, एबिसी टेलिभिजन, बुधबार साप्ताहिक, साँघु साप्ताहिक लगायत विभिन्न मिडियामा काम गर्दै आएका उनी हाल दामन पोष्ट साप्ताहिक र दामन पोष्ट डटकमको सम्पादकका रूपमा पनि कार्यरत छन् । उनले यसअघि जनसञ्चार साप्ताहिक र साप्ताहिक आवाज साप्ताहिकको कार्यकारी सम्पादक, अनलाइन पोर्टल नेप्लिज डट ओआरजीको वरिष्ठ सहसम्पादक र सेन्टरखबर डटकमको सम्पादक भएर समेत काम गरिसकेका छन् । बिडारीले रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारिता तथा आमसञ्चार विषयमा आइए, बिए र त्रिवि कै केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागबाट एमए पास तथा नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन् ।
उनी अहिले त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबाट एमफील–पिएचडी गर्दैछन् । उनीसँग नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति सदस्य एवं पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभागको विभागीय प्रमुख तथा त्ययसअघि सबैभन्दा ठुलो जिल्ला शाखा काठमाडौं जिल्ला शाखाको अध्यक्षका रूपमा पत्रकारको नेतृत्वमा रहेर काम गरेको अनुभव छ ।
पत्रकार, अध्यापक, अध्येता र प्रशिक्षकको परिचय बनाएका बिडारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रेस सल्लाहकार, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को नेपाल कार्यालयमा मिडिया एण्ड कम्युनिकेशन स्पेशलिस्ट, युएनडीपी संसदीय सहयोग परियोजनामा अनुसन्धाताका रूपमा काम गरेका थिए । साथै उनले अघिल्लो वर्ष मात्र त्रिभुवन विश्वविद्यालयको स्नातक तह तेस्रो वर्षको पत्रकारिता पाठ्यक्रम अन्तरगत ‘आमसञ्चारको परिचय’ नामक पुस्तक समेत प्रकाशनमा ल्याएका छन् ।
सञ्चारका मुद्दाहरूमा आलोचनात्मक चेत सहित कलम चलाउन रुचाउने उनले विभिन्न राष्ट्रिय दैनिक र अनुसन्धानमूलक जनर्लहरूमा स्वतन्त्र पत्रकारका हिसावमा टिप्पणी र विश्लेषणहरू लेख्दै आएका छन् । उनले चीन, भारत, यूएई लगायतका देशहरूको भ्रमण गरी विभिन्न अन्तराष्ट्रिय स्तरका सेमिनारहरूमा सहभागिता समेत जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्