मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–८ देउकोटका वासिन्दाले भोग्दै आएको खानेपानी समस्या समाधान भएको छ । घरघरमा धारा जडान भएपछि देउकोटमा पानीको पुरानो समस्या हटेको हो । धारा जडानसँगै दैनिक जीवनमा सहजता आएको छ । बिहान पानी लिन जाँदाको हतार, लाइनको झमेला, समयको बर्बादी—यी सबै कुरामा सुधार आएको छ। अब यहाँका नागरिकहरू बिहान चिया पिउँदै, समाचार सुन्दै धाराबाट पानी लिन सक्छन्। यसले घरधन्दा, अध्ययन, कृषि, स्वास्थ्य र सरसफाइमा प्रत्यक्ष सकारात्मक असर पार्न थालेको छ।

पानीको झमेलाले महिलाहरूको दिनभरको समय प्रभावित हुन्थ्यो। बालबालिकाहरू विद्यालय जान ढिलो हुन्थ्यो। तर घरमै धारा भएपछि महिलाहरू अन्य काममा लाग्न पाएका छन्, छोरा छोरीहरू विद्यालय जान नियमित भएका छन्। यसले शिक्षा र महिला सशक्तीकरणमा पनि सहयोग पु¥याएको छ। अहिले स्थानीयमा हातधुने, भाँडा माझ्ने, नुहाउने आदि काम नियमित हुँदा व्यक्तिगत र सामुदायिक सरसफाइमा सुधार आएको छ। घरघरमा धारा हुनु सफा र सुरक्षित जीवनतर्फको पाइला हो। यद्यपि यस क्षेत्रका धेरै ठाउँमा पानीको समस्या हटेको छ ।

पानीको श्रोत ठुलो नहुँदा यहाँका धेरै परिवारले पानीका लागि ओल्लो गाउँ र पल्लो गाउँमा धाउनुपर्ने बाध्यता हटेको स्थानीय वासिन्दाहरु बताउँछन् । यहाँका वासिन्दाहरुलाई खानेपानी सुविधा दिलाउनका लागि भनेर देउकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरेर २०७० सालदेखि निरन्तर रुपमा काम गरिदै आएको छ । चालु आर्थिक वर्षमा मात्र यस खानेपानी योजनाको काम सकेर यहाँका एक सय परिवारका घरघरमा दैनिक रुपमा निरन्तर पानी आएको छ । त्यतीबेला एक गाग्री पानीका लागि भोग्नुपरेको समस्या बताउँदै देउकोटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामसिंह थिङ भन्छन्–‘पानीका लागि मुहानको समस्या थियो । एउटा गाउँभरीमा थोरै धारा थिए । पानी लिनका लागि बिहान र बेलुका घरका सबै काम मायाँ मारेर धाउनुपर्ने बाध्यता थियो । तर, अहिले घरघरमा धारामा पानी आएको छ । निकै सहज भएको छ ।’

सबैभन्दा सुरुमा यहाँ पानी खुवाउनका लागि तत्कालिन हाँडीखोला गाविस कार्यालयबाट योजनाको सुरुवात गरिएको थियो । तर, हरेक वर्ष थोरै बजेट पर्ने भएका कारण योजना सम्पन्न गर्नका लागि निकै समस्या थियो । चालु आर्थिक वर्षमा भने खानेपानी डिभिजन कार्यालयले यस योजनाका लागि भनेर दश लाख रुपैयाँ लागतमा काम गरेको हो । यहाँ पानी खुवाउनका लागि देउकोटको खोल्सामा लिफ्टीङ गरेर पानी टंकीमा जम्मा गरेर वितरण गरिएको स्थानीय वासिन्दाहरुले बताएका छन् । यस क्षेत्रमा लिफ्टीङ गरेको पानी वितरणका लागि अटोमेसन समेत जडान गरिएको छ । यसले घरमै मोवाइलबाट खानेपानीको मुहानको मोटर बन्द गर्ने र खोल्न मिल्ने सुविधा समेत दिलाइएको खानेपानी डिभिजनका प्राबिधिक थोकरले बताए ।

यहाँ पानी संकलनका लागि भनेर ८० हजार लिटरको पानी टंकी निर्माण गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष थिङले बताए । ठुलो पानी टंकी भएपछी एक सय घरलाई पानी खुवाउनका लागि कुनैपनि समस्या नभएको उनको भनाई छ ।

पालिका प्रेस
थप जानकारी