नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ सम्मानित भएकी छन् । संचारिका समूह नेपाल मकवानपुरले हेटौंडामा ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ कार्यक्रम आयोजना गरेर ५० हजार रुपैयाँसहित साम्बालाई सम्मान गरेको हो ।
साम्बालाई हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौंडा स्क्लु अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशी, प्रजिअ स्किम श्रेष्ठ र संचारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङलगायतले नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । फुटबल खेलाडीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा साम्बाले अनुशासन, लगनशीलता र अठोटले मानिसलाई सफलतातर्फ उन्मुख गराउने बताइन् । ‘मैले अझै धेरै अघि बढ्नु छ । मलाई अझै धेरैजना म जस्तै फुटबल खेलेको हेर्न मन छ । यसका लागि अनुकूल वातारवरण आवश्यक छ,’ उनले भनिन् । साम्बा हालैमात्र न्यूजिल्यान्डको वेलिंगटन फिनिक्स फुटबल क्लबसँग अनुबन्धित भएकी छन् । अस्ट्रेलियाको ए–लिग महिला फुटबलको नयाँ सिजनका लागि क्लबले उनलाई अनुबन्ध गरेको हो ।
यसअघि उनले फ्रान्सको एन अभान्ट ग्वेंगाम्प क्लबबाट खेलेकी थिइन् । उक्त क्लबसँगको यात्रा विट मार्दै उनी २ महिनाअघि नेपाल फर्केकी थिइन् । उनले इजरायल, भारत, माल्दिभ्स लगायतका देशमा विभिन्न लिगमा सहभागी भई नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । नेपाली महिला फुटबलको इतिहासमै सर्वाधिक गोलकर्तामध्ये एक सावित्राको योगदानले देशकै खेलकुद क्षेत्रमा प्रेरणा प्रदान गरेको उपमेयर बानियाँले बताए ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्