चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा तुइनखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध भएपछि त्यसको विकल्पका रूपमा तराईका जिल्ला र पूर्वबाट काठमाण्डौं ओहोरदोहोर गर्ने सवारी साधन अहिले हेटौंडा–पालुङ मार्ग हुँदै त्रिभुवन राजपथ प्रयोग गर्न थालेका छन् ।

पछिल्लो केही दिनयता उक्त खण्डमा दैनिकजसो ढुङ्गा–माटो खस्दा सडक बन्द हुने र यात्रुहरु अलपत्र पर्नुपर्ने अवस्था सिर्जना हुँदै आएकोले त्रिभुवनराजपथ भएर यात्रुबाहक बस र ट्रकहरु समेत यस सडकको प्रयोग गर्न थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।

मुग्लीन नारायणगढ सडकमा पहिरो पन्छ्याउँदै यातायात सञ्चालन गरिए पनि निरन्तर खस्ने ढुङ्गाका कारण नियमित आवागमनमा समस्या आइरहेको छ । विशेष गरी दसैँको समयमा यात्रुको चाप अत्यधिक हुने भएकाले सडक बन्द हुँदा सर्वसाधारण मारमा परेका छन् ।

अहिल्े हेटौंडा–काठमाण्डौं ओहोर दोहोर गर्ने कुलेखानी फाखेल सडक, सिस्नेरी सडकमा पनि यात्रुबाहक साना सवारीका साधनहरुको निकै चाप बढेको छ ।

मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएपछि सवारी साधनहरू तनहुँको खैरेनीटार हुँदै डेढगाउँको मार्ग वा त्रिभुवन राजपथमार्ग प्रयोग गर्न थालेका हुन् । यस कारण त्रिभुवन राजपथमा अहिले सामान्यतया भन्दा धेरै गाडीको चाप बढेको देखिएको छ ।

यात्रुहरूले भने वैकल्पिक बाटो लामो र कठिन भए पनि बाध्यतावश प्रयोग गर्नुपर्ने अवस्था आएको गुनासो गरेका छन् । सम्बन्धित निकायले चाडपर्वको भीडलाई लक्षित गर्दै वैकल्पिक मार्गहरूमा सुरक्षा र यातायात व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने माग यात्रुहरूको छ ।

पालिका प्रेस
थप जानकारी